नेभिगेशन

लगातार वर्षाले धेरै नदीमा पानीको बहाव बढ्यो

काठमाण्डाै – अहिले देशका केही ठाउँमा सामान्य वर्षा भएपछि धेरैजसो ठाउँको मौसम खुलेको छ । पछिल्लो ६ घण्टामा सबैजसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन ।

तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा पानीको बहाव बढेको छ । पहाडी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

आज दिउँसो ३ बजे गरेको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४८ हजार ८६५ क्युसेक पुगेको छ । योसँगै ब्यारेजका ३४ ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

यस्तै लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका–२ फतुवा महेशपुरमा रहेको हुलाकी सडक खण्ड बन्द भएको छ ।

यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्ररूपमा बढेको छ ।

नेपाल–भारत सीमामा रहेको गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा दिउँसो गरेको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ३० हजार ७३५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा अहिले नै बाढी वा डुबानको घटना नभए पनि सचेत गराएको प्रहरीको भनाइ छ ।

यस्तै निरन्तर वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरे खोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको हो ।

गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मुस्ताङलगायतका जिल्लामा ठूलो पानी परेपछि रानीमहल क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ ।

प्रकाशित मिति:
थप समाज