नेभिगेशन

दक्षिण काेरियाकाे इन्चाेन बन्याे विश्वकै व्यस्त विमानस्थल

दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा इन्चोन विमानस्थल भएर ३ करोड ८४ लाख अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ ।

एअरपोर्ट्स काउन्सिल इन्टरनेशनल (एसीआई) का अनुसार बेलायतको हिथ्रो विमानस्थल ३ करोड ७७ लाख ९० हजार यात्रुसहित दोस्रो र सिङ्गापुरको चाङ्गी विमानस्थल ३ करोड ४५ लाख ३० हजार यात्रुसहित तेस्रो स्थानमा रहेको छ ।

मध्यपूर्वमा चलिरहेको अमेरिका–इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको सङ्ख्या बढेको हो । विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वका कारण केही यात्रुले मध्यपूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन् ।

सन् २०२४ र २०२५ को पूर्णवर्षीय वरीयतामा दोस्रो स्थानमा रहेको यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थल यस पटक शीर्ष ५ भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ ।

यस्तै बेलायतको हिथ्रो सन् २०२४ मा पाँचौँ र सन् २०२५ मा सातौँ स्थानमा रहेको थियो । यी २ वर्षमा इन्चोन क्रमशः १२औँ र १३औँ स्थानमा रहेको थियो ।

इन्चोन एअरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको सङ्ख्या १८ प्रतिशतले बढेको छ । यीमध्ये धेरैजसो त्यस्ता यात्रुहरू छन् जो पहिले युरोप जाँदा दुबई हुँदै कनेक्टिङ उडान लिने गर्थे तर अहिले इन्चोन हुँदै यात्रा गरिरहेका छन् ।

विमानस्थलको तथ्याङ्कअनुसार युरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको सङ्ख्या ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेको छ । मध्यपूर्वमा चलिरहेको द्वन्द्वले विश्वव्यापी हवाई उडान मार्ग र यात्रुहरूको रोजाइमा पनि प्रभाव पारेको छ ।

२५ वर्षअघि सञ्चालनमा आएको इन्चोन विमानस्थल अहिले १०१ वटा वायुसेवा कम्पनीमार्फत ५० भन्दा धेरै देशसँग जोडिएको छ ।

प्रकाशित मिति:
थप विश्व