नेभिगेशन

अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र

इरानकाे  तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक सर्तहरूको सूची तयार गर्न थालेको छ । इरानी सुरक्षा प्रमुख मोहसेन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिरहेको हो । उहाँले अमेरिकाले ती माग पूरा गर्न व्यावहारिक कदम चालेपछि मात्रै जलमार्ग खोलिने संकेत दिनुभएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले जिजो तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभएको छ । छलफलमा हर्मुजको भविष्य र अस्थायी सामुद्रिक मार्ग प्रमुख विषय बनेको छ । इरानका अनुसार ओमानसँग मिलेर ओमानी र इरानी दुवै जलक्षेत्र हुँदै जाने अस्थायी ढुवानी करिडोरको प्रारम्भिक खाकामा सहमति बनेको छ । तर यसलाई हर्मुज तत्काल खुल्ने संकेतका रूपमा भने हेरिएको छैन ।

इरानले सम्भावित सर्तका रूपमा क्षेत्रीय युद्ध अन्त्य, इरानी बन्दरगाहमाथिका अमेरिकी प्रतिबन्ध हटाउने, आर्थिक राहत तथा क्षतिपूर्ति लगायतका विषय अघि सार्न सक्ने बताइएको छ । यसैबीच अमेरिकी सेनाले भने हर्मुज खुला रहेको दाबी गर्दै इरानी बन्दरगाहमा अमेरिकी अनुमति बिना कुनै जहाज प्रवेश वा बाहिरिन नदिइएको जनाएको छ ।

अमेरिकी सेनाका अनुसार पछिल्ला महिनामा झण्डै १,५०० व्यावसायिक जहाजलाई हर्मुज पार गर्न सहयोग गरिएको छ र इरानी रिभोलुसनरी गाड्र्सले राखेका समुद्री बारुदसमेत हटाइएको छ । यस घटनाक्रमले होर्मुजलाई लिएर अमेरिका–इरानबीचको सैन्य तनावसँगै कूटनीतिक प्रयास पनि तीव्र बनेको देखाएको छ ।

कतार र ओमानजस्ता मध्यस्थ देशहरूको सक्रियताले युद्ध अन्त्य र महत्वपूर्ण जलमार्ग फेरि सुचारु गर्ने सम्भावनाबारे आशा बढाएको छ ।

प्रकाशित मिति:
थप विश्व