नेभिगेशन
शनिबार, असोज ३, २०८३

ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच सम्झौता

अमेरिका र डेनमार्कले ग्रीनल्यान्डको सुरक्षासम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरु भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ । सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ ।

त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेदरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एट्लान्टिक क्षेत्रमा सुरक्षा मजबुत बनाउने उल्लेख गर्नुभएको छ । तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोष्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फ्रेदरिक्सनले केही खुलाउनुभएको छैन ।

यो सम्झौता ग्रीनल्यान्ड लिने भन्दै ट्रम्पले महिनौँदेखि दिँदै आएको धम्कीपछि भएको हो । सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृतिबिना कुनै पनि अमेरिकी प्रतिद्वन्द्वीले ग्रीनल्यान्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ ।

डेनमार्ककी प्रधानमन्त्री फ्रेदरिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसङ्घको महासभामा हस्ताक्षर गरिने पुष्टि गर्नुभएको छ । ट्रम्पले खनिजले धनी डेनमार्कको यो भागलाई खरिद गर्ने वा अमेरिकामा गाभ्ने प्रयास गर्दै आउनुभएको थियो ।
 

प्रकाशित मिति:
थप विश्व