नेभिगेशन
शनिबार, असोज ३, २०८३

ट्रम्पद्वारा रुसमाथि व्यापक प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्नुभएको छ ।

नयाँ कानुनले रुसी तेल र प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख देशमाथि थप शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिएको छ । कानुनअनुसार रुसबाट तेल वा ग्यास खरिद गर्ने पाँच ठूला देशका वस्तुमा १०० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउन सकिनेछ ।

यसले चीन र भारतजस्ता रुसी ऊर्जा खरिद गर्ने देशलाई असर पार्न सक्छ । कानुनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, रुसी सरकारका अधिकारी, बैंक तथा अन्य वित्तीय संस्थामाथि प्रतिबन्ध लगाउने व्यवस्था पनि गरेको छ । साथै, विद्यमान प्रतिबन्ध छल्न प्रयोग भइरहेको रुसको ‘छायाँ फ्लीट’ भनिने तेल बोक्ने ट्याङ्करमाथि समेत प्रतिबन्ध लगाइनेछ ।

अमेरिकाले यो कानुनमार्फत रुसको ऊर्जा र रक्षा क्षेत्रबाट हुने आम्दानीमा दबाब बढाएर युक्रेन युद्धका लागि आवश्यक आर्थिक स्रोत कमजोर पार्ने लक्ष्य राखेको छ । कानुनले रुससँग सम्बन्धित प्रतिबन्धका साथै इरानमाथिका विद्यमान प्रतिबन्धलाई पनि थप पाँच वर्ष निरन्तरता दिने व्यवस्था गरेको छ ।

‘लिन्डसे ओ ग्राहम स्यान्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ नामको बिधेयक अमेरिकी संसद्का दुवै सदनबाट पारित भएको हो । यसको नाम जुलाईमा निधन भएका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको सम्मानमा राखिएको हो । ग्राहम लामो समयदेखि रुसमाथि थप कडा प्रतिबन्ध लगाउने पक्षमा हुनुहुन्थ्यो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि कानुन पारित भएकोमा स्वागत गर्नुभएको थियो । तर अमेरिकी संसद्मा केही सांसदले भने यसले राष्ट्रपतिलाई अत्यधिक शुल्क लगाउने अधिकार दिइएको भन्दै यसबाट अन्य देशसँगको व्यापारमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
थप विश्व