नेभिगेशन
आइतबार, असोज २५, २०८३

कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चलिरहेको छ ।

अहिलेसम्म ३ हजार ४३५ मतगणना भएकोमा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले आफ्नो अग्रता फराकिलो बनाउँदै लैजानुभएको छ ।

कांग्रेस महाधिवेशनमा उपसभापतिमा २ जना खुला र १ जना समावेशीसहित ३ जना तथा महामन्त्रीमा पनि २ जना खुला र १ जना महिलासहित ३ जनाका लागि मतगणना भइरहेको हो ।

उपसभापतिमा खुलातर्फ २ जना निर्वाचित हुनेमा चन्द्रकान्त भण्डारी १ हजार ६८६ मतसहित शीर्ष स्थानमा हुनुहुन्छ । उहाँले दोस्रो स्थानका उम्मेदवारलाई ५९६ मतले पछाडि पार्नुभएको छ । दोस्रोमा मधु आचार्यले १ हजार ९० मत र तेस्रोमा सुरेन्द्रराज पाण्डेले ९५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापति समावेशीतर्फ १ पद रहेकोमा विनोदकुमार चौधरी र जीवन परियारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । चौधरीले ८९६ मत प्राप्त गर्दा जीवन परियारले ८२९, फरमुल्लाह मन्सुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री खुलातर्फ दुई पद निर्वाचित हुनेमा प्रदीप पौडेल २ हजार ५५ मतका साथ ठूलो अन्तरले अगाडि हुनुहुन्छ । दोस्रो स्थानका लागि उदयशमशेर राणा र डा. सुनिलकुमार शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । उदयशमशेर राणाले १ हजार १५९ मत पाउँदा डा. सुनिलकुमार शर्माले ९३४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शङ्कर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गर्नुभएको छ ।

महिला महामन्त्रीतर्फ १ जना निर्वाचित हुनेमा डा. डिला सङ्ग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा भइरहेको छ । सङ्ग्रौलाले १,५१७ मत प्राप्त गर्दा उपाध्यायले १ हजार ३९८ मत प्राप्त गर्नुभएको छ । रीता खनालले ३६५ मत प्राप्त गर्नुभएको छ ।

मत परिणामअनुसार उपसभापति खुलातर्फ भण्डारी र महामन्त्री खुलातर्फ पौडेल बलियो स्थितिमा देखिनुभएको छ । उपसभापति खुलाको दोस्रो स्थान, समावेशी उपसभापति तथा महिला महामन्त्री पदमा भने उम्मेदवारहरूबीच रोचक र प्रतिस्पर्धात्मक अवस्था छ ।

प्रकाशित मिति:
थप राजनीति