नेभिगेशन
मंगलबार, असोज २७, २०८३

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित : चुम उपत्यकाको पदयात्रा स्थगित

काठमाण्डौ – अस्ति आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए ।

ती सबै पर्यटक सुरक्षित रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन् ।

आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्‍याएको छ । एमक्यापले अहिले चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ ।

चुमनुब्री गाउँपालिका–६ लोक्पा सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो । 

धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका धेरैजसो ठाउँमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताउनुभयो । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित छ ।

तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । 

प्रकाशित मिति:
थप समाज