नेभिगेशन

अपेक्षा ‘ए प्लस’ : उपलब्धि ‘सी प्लस’

शान्ति, स्थायित्व र समृद्धिको मूल प्रतिबद्धता बोकेर ०७४ सालको चुनावमा करिब दुई तिहाई मत प्राप्त गरी बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले यही फागुन ३ गते तीन वर्ष पूरा गरेको छ । 

संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन गरेको आरोप लागिरहँदा प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकाललाई २३ पृष्ठ लामो तथ्याङ्कमार्फत प्रस्तुत गरेर जनअपेक्षाअनुसारको उत्कृष्ट काम गरेको दाबी गर्नुभएको छ ।

अनेकौँ प्रतिकूलताका बाबजुद पनि उत्कृष्ट काम गरेको भन्दै सरकारका अग्रगामी, राम्रा र सवल पक्षलाई उहाँले उजागर गर्नुभएको छ । तर कतिपय विरोधीहरुले भने ओली सरकार पूर्णतः असफल, निरङ्कुश र प्रतिगामी भएको तर्क गरिरहेका छन् । यस्तो परस्पर विपरीत धारणा प्रकट भइरहँदा वास्तविकरुपमा सरकार विगत तीन वर्षमा कति सफल, कति असफल ? भन्ने स्वतन्त्ररुपले यथार्थ मूल्याङ्कन हुनु जरुरी देखिन्छ।

विसं २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर शान्ति, समृद्धि र स्थायित्वको मूल चुनावी घोषणापत्रको प्रतिबद्धतासहित चुनावमा होमिएका थिए । नागरिकले यही गठबन्धनलाई करिब दुई तिहाई मत दिएर सरकारमा पुर्याए ।

तर बिडम्बना, एउटा पूर्ण कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरण पनि नसकिँदै दुवै समूह दुईतिर छिन्नभिन्न भएका छन्  । यही कारण नै देश यतिखेर अन्योलको भुमरीमा फसेको छ । यस्तो विषम परिस्थितिमा सरकारको काम कारबाही पूर्णरुपमा प्रभावकारी हुने त कुरै भएन । 

पार्टीभित्रको आन्तरिक किचलोकै कारण विघटन गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ । प्रधानमन्त्रीको कदम संवैधानिक कि असंवैधानिक भन्ने व्याख्या त अदालतले गर्ने नै छ  । तर, अधिकांश राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायीलगायतले प्रमको कदमलाई असंवैधानिक भन्दै सडकमा ओर्लेपछि देश पक्षविपक्षको बहस र जबर्जस्ती आरोप-प्रत्यारोपमै अलमलिएको छ ।

सरकारका कमजोरीहरु 

सरकार गठनलगत्तै सरकारले यातायात सिन्डिकेट खारेजीको निर्णय गर्यो । लामो समयको विवादसँगै त्यो निर्णय अझै पनि अलपत्र अवस्थामा छ । सरकारलाई विवादमा ल्याउने अर्को प्रकरण गुठी विधेयक हो । गुठीको समस्या समाधानका लागि भन्दै सरकारले विधेयक ल्याएपछि त्यसका विरुद्धका काठमाण्डौमा ठूलो प्रदर्शन भयो । यो विधेयक सरकारले फिर्ता लिन बाध्य भयो ।

बालुवाटार जग्गा प्रकरणले सरकारलाई लामो समयसम्म विवादको घेरामा तानिरह्यो । कोभिड-१९ नाम दिइएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटाला भएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ  ।

बजार मूल्यभन्दा महँगाे र गुणस्तरहीन सामान खरिद गरेको भन्दै सरकारको चौतर्फी विरोध भयो । तर, सरकारले यसबारेमा जनता आश्वस्त हुने गरी कुनै चित्तबुझ्दो र आधिकारिक प्रष्टीकरण दिन सकेन । 

कोरोना कहरसँगै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । राजनीतिक दल विभाजनका लागि सजिलो हुने प्रावधानसहितको अध्यादेशको पनि चौतर्फी विरोध भयो । सांसद् अपहरणको आरोप सरकारपक्षीय नेताहरुलाई लाग्यो । त्यसको पनि प्रतिवाद सरकारले गर्न सकेन ।

कञ्चनपुरकी बालिका निर्मला पन्तदेखि बैतडीकी भागरथी भट्टको हत्यासम्म आइपुग्दा शान्ति सुरक्षा दिन नसकेको भन्दै सरकारको चर्को आलोचना भयो । भागरथी भट्टको हत्याकाण्डका आरोपी समातिएको भए पनि निर्मला पन्त घटनामा सरकार नराम्रोसँग चुकेको देखिन्छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेश, गुठी विधेयक, सिन्डिकेट खारेजीजस्ता आवेग र हतारमा गरिएका यस्तै अनेकौँ निर्णयले सरकारको काममा प्रभावकारितामा जटिल प्रश्न तेर्सिएका छन् । निर्मला हत्याकाण्ड, बालुवाटार जग्गा प्रकरण, सुन तस्करीकाण्ड अनि विभिन्न आर्थिक कमिसन र भ्रष्टाचारका विषयमा सरकार कमजोर देखिएको छ । जनस्तरमा आलोचना बढेको छ । 

सरकारले रेल, पानीजहाजका ठूलाठूला सपना बाँडे पनि सर्वसाधारण नागरिकका दैनिक जनजीविकाका मुद्दामा भने आशातीत सफलता प्राप्त गर्न नसकेको गुनासा बढ्दै छन् । भ्रष्टाचार, कमिसन, महँगी र कालोबजारी नियन्त्रणका लागि सरकारले काम गर्ने समय नै निकाल्न सकेन ।

चाडबाडका बेलामा कर्मकाण्डी बजार अनुगमनबाहेक आकासिँदो मूल्यवृद्धि नियन्त्रण गर्ने गरी सरकारले उपभोक्ताको पक्षमा ठोस योजना ल्याउन सकेन । यी कमजोरीलाई विपक्षीले मात्रै होइन, सर्वसाधारण नागरिकले समेत सरकारमाथि आक्रोश पोखेकै छन् । 

सरकारका उपलब्धिहरु  

आफ्नै पार्टीभित्रैबाट र बाहिरबाट समेत तमाम अवरोधको सामना गर्दै समृद्ध नेपाल सुखी नागरिकको राष्ट्रिय सङ्कल्प पूरा गर्ने अभियानमा भने सरकार डटेर लागेको देखिन्छ । राष्ट्रिय सङ्कल्पलाई साकार पार्ने खालका थुप्रै काम भने सरकारले गरेकै छ । 

प्रधानमन्त्री ओली सरकारले तीन वर्षमा गरेको गर्व गर्न लायक काम अतिक्रमित भूमि समेटेर नेपालको नक्सा प्रकाशित गर्नु हो । आफ्नो सीमा मिचिँदासमेत नेपालका सरकार र प्रधानमन्त्रीहरु भारतसँग खुलेर कुरा राख्न नसक्ने विगतको तीतो यथार्थगत परिस्थितिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने काम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि हो ।

कोभिड नियन्त्रणमा सरकारको काम गतिशील र उत्साहजनक रहेको छ । ओम्नी काण्डमा विवादित रहे पनि नियन्त्रणका बाँकी सवालमा सरकार कहीं चुकेजस्तो लाग्दैन । कोरोनाविरुद्धको खोप सम्पूर्ण नेपाली नागरिकहरुलाई निःशुल्क लगाउने कार्यगति अति प्रशंसनीय र जनमुखी कार्य हो । 

एकैदिन देशका ३ सय ९६ पालिकामा आधारभूत अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास निर्माणकार्यको थालनी नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपटक  हो । स्वास्थ्य क्षेत्रमा नयाँ आयाम हो । यसलाई सरकारले जनस्वास्थ्य क्षेत्रमा गरेको ऐतिहासिक क्रान्तिको सुरुवात मान्न सकिन्छ ।

कोरोना भाइरसका कारण कयौँ देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगेको अवस्थामा नेपालको आर्थिक वृद्धिदर घटे पनि नेपाली अर्थतन्त्र चरम मन्दीको चपेटामा पर्न पाएन । यो सरकारको ठूलो उपलब्धि हो । भूकम्प पुनर्निर्माण अन्तर्गत कयौँ आवास घर तथा ठूला पूर्वाधार र सम्पदाहरु तयार भए । सरकार गठन भएपछि प्रतिदिन करिब ५ किलोमिटरभन्दा बढीका दरले कालोपत्रे सडक निर्माण भइरहेका छन् ।

१३० वटा तुइन विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरिएका छन् । अर्ब रुपैयाँ बराबरको जोखिम ब्यहाेर्न सक्नेगरी कोभिड १९ ले मर्माहत निजी क्षेत्र तथा व्यावसायिक जगतलाई राहत उपलब्ध गराउन ४२ अर्ब रुपैयाँको पुनर्कर्जा कोषको व्यवस्था गरिएको छ ।

पीसीआर परीक्षण ल्याब शून्यबाट ८३ पुर्याइएको जस्ता उल्लेख्य कामहरु तीन वर्षमा सरकारले गरेका महत्त्वपूर्ण उपलब्धि भने हुन् । योगदानमा आधारित समाजिक सुरक्षा योजना अनि साना किसानको ऋण मिनाहासम्मका कार्यक्रम र योजना वर्तमान सरकारका ऐतिहासिक उल्लेख्य कदमहरु हुन् । कामदार, रोजगारदाता र सरकारको योगदानका कारण श्रम गरेको व्यक्तिले ६० वर्षपछि पेन्सन पाउने व्यवस्था वास्तवमा श्रम क्षेत्रमा ‘नयाँ युगको सुरुआत’ नै हो । 

सामाजिक सुरक्षा कार्यक्रमलाई २०५१ सालमा कम्युनिस्ट सरकारले ल्याएको वृद्ध भत्तापछिकै लोकप्रिय कार्यक्रम भन्न मिल्छ । तीन वर्षका अवधिमा पूर्व-पश्चिम तथा उत्तर-दक्षिण रेल-वे सेवा विस्तारको काम अघि बढेको छ । रक्सौल-काठमाण्डौ तथा केरुङ-काठमाण्डौ रेल वेको विस्तृत सर्वेक्षण अघि बढेको छ भने पूर्व-पश्चिम रेलको निर्माण भइरहेको छ । पानीजहाज सञ्चालनका लागि कानुन निर्माणसँगै आवश्यक पूर्वाधार तयारीको काम  सरकारले गरिसकेको छ । 

रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन निर्माण भएर निर्बाध र नियमित रुपमा पेट्रोलियम आपूर्ति हुन थालेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने काम पनि वर्तमान सरकारको महत्त्वपूर्ण उपलब्धि नै हो ।

सरकारले दिने सेवा अनलाइनबाटै गर्न सकिने व्यवस्थासहितको नागरिक एप सञ्चालनमा ल्याएको छ । यसले सानो कामका लागि सरकारी कार्यालय धाउने काम बन्द हुने अपेक्षा गरिएको छ । केही हदसम्म भ्रष्टाचार नियन्त्रणका लागि मद्दत पुग्नेछ ।

सरकारले सुरुमै उद्घोष गरेको तुइनमुक्त देश बनाउने कार्य हाल सम्पन्न भइसकेको छ । रानीपोखरीको पुनर्निर्माण भइसकेको छ । धरहराको पुनर्निर्माण सम्पन्न हुँदैछ । तराईमा पृथकतावादी राजनीति गरिरहेको सीके राउतसमूहलाई  मूल राजनीतिक धारमा समायोजन, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था र ज्येष्ठ नागरिक स्वास्थ्य बीमालगायतका तमाम कार्य सरकारका उल्लेख्य उपलब्धि हुन् । 

सुन तस्करीमा ब्रेक, चीनसँग पारवाहन सम्झौता, सुरुङमार्ग र सडक विस्तारलगायतका कार्यक्रमहरु समृद्धि र विकासका सपना साकार पार्ने कार्ययोजना नै हुन् । देशलाई समृद्धितिर लैजाने उद्धेश्य र अभियान हुन्। विकासका कामका रुपमा हेर्दा सरकारले देशमा निर्माणाधीन आयोजनाहरुलाई निरन्तरता दिदै कार्यान्वयन पक्षलाई तीव्रता दिएको छ । यो कार्यकालमा अनेकौँ आयोजनाका निर्माणले गति लिएको पाइन्छ। 

प्रधानमन्त्री केपी शर्मा जतिखेर पनि नागरिकमा आशा र आकाङ्क्षा जगाइरहनुहुन्छ । आफू प्रधानमन्त्री बनेदेखि नै प्रमले देशको समृद्धि र विकासका तमाम सपनाहरु नागरिकलाई देखाइरहनुभएको छ  । वि.सं २०७२ सालमा भारतीय नाकाबन्दीको समयमा पहिलोपटक आफू प्रधानमन्त्री बनेदेखि उहाँले देशमा रेल र पानीजहाज कुदाउने सपना देखाउनुभएको हो ।

लोडसेडिङ सदाका लागि अन्त्य गर्ने सङ्कल्पसहित घरघरमा ग्यासको पाइप पुर्याउने र हावाबाट बिजुली निकाल्नेजस्ता तमाम योजना अघि सार्नुभएको हो  । नेपालको समृद्धि र विकासका लागि उहाँले देखाएको यो सपना सामान्य हैन । देशको सुदूर भविष्यका लागि सही मार्गदर्शन र अपरिहार्य आवश्यकता हो ।  

प्रधानमन्त्री ओलीले सुरुदेखि नै हाम्रो देश नेपाल भिखारीको देश नभएको तर्क गरिरहनुभएको छ । कोही नेपाली भोकै मर्न नपर्ने दाबी गरिरहनुहुन्छ । कोही नहुनेको सरकार छ भनिरहनुहुन्छ  । नेपाल सधैँ गरिब र पिछडिएको हुनु हुँदैन भन्ने वकालत गरिरहनुहुन्छ । देश र नागरिकका मूर्च्छित सपनाहरुलाई उजागर गरिरहनुहुन्छ । देशको विकास र समृद्धिका आकाङ्क्षालाई मुखरित गरिरहनुहुन्छ । उहाँको यो भनाइ र अभियान देशका लागि अपरिहार्य र महत्त्वपूर्ण भूमिका हो । 

विगत तीन वर्षमा सरकारले राष्ट्रको शिर निहुरिने कुनै काम गरेको छैन बरु शिर उँचो हुने काम गरेको देखिन्छ । अनेकौँ व्यवधान र तमाम चुनौतीका बीचमा पनि आफ्नो क्षमता, स्रोत र अवस्थाले भ्याएसम्म ओली सरकारले जनताको पक्षमा काम गरेको छ । यो गर्वको कुरा हो । 

त्यसो त कम्युनिस्ट पार्टीको सरकारबाट नागरिकले ठूलै आशा राखेका थिए । तर त्यो आशा र आकाङ्क्षा पार्टीभित्रकै आन्तरिक झगडा र पदीय महत्त्वाकाङ्क्षा पूरा हुन सकेन । समृद्धि र विकास लागि नागरिकले सरकारबाट ‘ए प्लस’ रिजल्टको अपेक्षा गरेको भए पनि देश र नागरिकका मूर्च्छित सपनाहरुलाई उजागर गर्ने सवाल, देशको विकास र समृद्धिका आकाङ्क्षालाई मुखरित गर्ने प्रष्टता अनि राष्ट्रवादी अडानका आधारमा सरकारको तीन वर्षे कार्यकाललाई ‘सी प्लस’ मूल्याङ्कन गर्नु उपयुक्त हुनेछ ।

विशेष परिस्थितिमा यही नै उत्कृष्ट रिजल्ट हो  । 

प्रकाशित मिति:
थप विचार