नेभिगेशन

जाजरकाेट भूकम्प : जुम्लामा पाँच जना घाइते, दर्जनौँ घर चर्किए

जुम्ला – जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका – १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्ला जिल्ला तातोपानी गाउँपालिका – ३ बाहुनवाडा निवासी २६ वर्षीया सिर्जना गौतमको हातमा सामान्य चोट र निजको छोरा एक वर्ष ११ महिनाको आयुष गौतमको अँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका – ३ निवासी १४ वर्षीय निराजन उपाध्यायको हातमा चोट लागेको छ । त्यस्तै तिला गाउँपालिका – ३ दानीवाडा निवासी ११ वर्षीया सपना थापालाई सामान्य चोट लागेको छ । तातोपानी गाउँपालिका – ४ का हरिबहादुर खत्रीको घरको पर्खाल भत्कँदा खुट्टामा चोट लागेको जानकारी दिनुभयो । 

स्थानीय प्रशासनका अनुसार तिला गाउँपालिका वडा नम्बर ३, ५ र ९ मा केही घरहरु तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ४६ को विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । चोटपटक सामान्य भएका कारण घाइतेहको घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेका जानकारी दिनुभयो ।

यसैगरी जिल्लाका गाउँ गाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएका छन् । जिल्लाका हिमा गाउँपालिका वडा नम्बर १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले जानकारी दिनुभयो ।

जुम्ला जिल्लामा भने मानवीय तथा कुनै ठूलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । उहाँले तथ्यांकका लागि प्रहरी परिचालित गरिएको जानकारी दिनु भयो । 

प्रकाशित मिति:
थप समाज