वर्षाले सडक हिलाम्य, यात्रा कष्टकर

 चैत १५, २०८० बिहिबार ७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : बलराम पाण्डेको फेसबुक

काडमाण्डौ – लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । ठूला पहिरो झरेर अवरुद्ध नभए पनि सडक चिप्लो हुँदा र छेउकुनाको माटो बगेर सडकसम्म पुग्दा समस्या भएको हो ।

सङ्घीय राजधानी काठमाण्डौ जोड्ने नागढुङ्गा–मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।

अहिले धादिङ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । ठूला गाडी भने चलिरहेका छन् । काठमाण्डौबाट झण्डै १ सय किलोमिटरको दूरीमा रहेको मुग्लिन पुग्नै ७/८ घण्टा लाग्ने गरेको छ ।

यस्तै, भक्तपुरको सूर्यविनायकमा पनि सडक विस्तारका क्रममा खनिएको माटो बगेर सडकसम्म पुग्दा गाडी गुड्न समस्या छ । बनेपामा पनि सडकमै माटो थुप्रिँदा गाडीलाई समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका केही ठाउँमा पनि सडकमै गेग्रान थुपिँदा आवागमन प्रभावित भएको छ ।

मुग्लिनबाट पोखरा जाने ए सय किलोमिटर बाटो पनि हिँडिसक्नु छैन । पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ, तर बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ १ सय १७ किलोमिटर सडक खनेर छाडेको पाँच वर्ष पुगेको छ । तर सडक अहिले पनि कतै हिलाम्य र कतै धुलैधुलो छ ।

विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् । जसका कारण जाम पनि हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया