यसवर्षको एसईई शुरु, पहिलो दिन विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिंदै

 चैत १५, २०८० बिहिबार ९:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । पहिलो दिन अहिले विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् । देशभर दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ ।  सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्काे वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया