चैते झरीले रोक्यो त्रिभुवन विमानस्थलको कालोपत्रे फेर्ने काम

 चैत २६, २०७५ मंगलबार १३:७:१७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – बेमौसमी झरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे फेर्ने काम प्रभावित भएको छ । चैत १८ गतेदेखि विमानस्थल १० घण्टा बन्द गरेर धावनमार्गको कालोपत्रे फेर्ने काम थाले पनि अहिलेसम्म मुख्य काम भने सुरु नै भएको छैन । २२ घण्टा चल्ने विमानस्थल १४ घण्टा मात्रै चलाएर काम तीव्र बनाउने योजना रहे पनि वर्षाका कारण मुख्य काम नै सुरु गर्न नपाएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको छ । विमानस्थल १० घण्टा बन्द हुँदा आन्तरिक तथा वाह्य उडान भद्रगोल हुँदै आएको छ । त्रिभुवन विमानस्थलको चाप कम गर्न लुक्ला जाने विमान रामेछापको मन्थलीबाट उडान गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, प्राधिकरणले उडान कटौती गरेका केही अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ठूला जहाजमार्फत धेरै यात्रु ओसार्न अनुरोध पनि गरेको छ । प्राधिकरणको अनुरोधपछि कतिपय विमान कम्पनीले ठूला विमान नेपाल ल्याउन थालेका छन् । यसले उडान कम भए पनि यात्रुको संख्या भने नघटेको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिनुभयो ।

सेन्टरलाइनमा लाइट राख्ने काम सुरु

तीन हजार ५० मिटर लामो धावनमार्गमा ३० सेण्टिमिटरदेखि ५३ मिटरसम्म गहिराईसम्मको पुरानो कालोपत्रे फालेर नयाँ हाल्ने तयारी छ । हरेक राती कम्तीमा ८० मिटर पुरानो कालोपत्रे भत्काएर नयाँ हाल्ने र अर्को दिन ८ बजे अन्तर्राष्ट्रिय उडान तथा अवतरणको लागि विमानस्थल तयार गर्ने गरि काम गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।

तर, हरेक राति हाउने हावाहुरी र पर्ने पानीले अहिलेसम्म कालोपत्रे भत्काउने र नयाँ राख्ने काम सुरु नै हुन नसकेको पनि प्राधिकरणले जनाएको छ । ‘उनीहरुले हरेक राति सामग्री तयार पारेर धावनमार्ग नजिकै राखेका हुन्छन्, तर ठूलो वर्षा र हावाहुरीले काम गर्न मुश्किल भएको छ’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो । कालोपत्रे फेर्नुअघि धावनमार्गको मध्य रेखामा पुराना लाइट हटाएर नयाँ बत्ती राख्ने काम भने भैरहेको छ । 

जेठ  १५ भित्रै काम सक्ने दाबी

वर्षाको कारण २/४ दिन काम रोकिए पनि जेठ १५ गतेभित्र काम सक्ने समयसीमामा भने नफेरिने प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल जम्मा १४ घन्टा चलाउँदा अवस्था झनै भद्रगोल हुन सक्ने भएकाले तोकिएको समयभित्र जसरी पनि काम सक्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

धावनमार्गको कालोपत्रे फेर्ने काम ३ अर्ब ७५ करोड रुपैयाँमा चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनलाई जिम्मा दिइएको छ । कम्पनीले बर्खाअघि नै मुख्य धावनमार्गको कालोपत्रे फेर्ने, ट्याक्सी वे तथा पार्किङको पनि कालोपत्रे फेर्ने जिम्मा पाएको छ ।

१०÷१२ वर्षमा कालोपत्रे फेर्ने अन्तर्राष्ट्रिय अभ्यास भए पनि २०१२ सालदेखि ठूला विमान चल्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अहिलेसम्म पनि टालटुलकै भरमा चलाइएको छ । बेला–बेलामा कालोपत्रे भत्किँदा उडान र अवतरण बन्द गर्नुपर्ने वा आकाशमै विमानलाई आकाशमै फेरो मार्न लगाएर टालटुल पार्ने र काम चलाउने गर्ने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया