लकडाउन भोगेको त्यो कष्ट, कतैै निषेधाज्ञा लम्बिँदै जाने त हैन ?

 भदौ १०, २०७७ बुधबार १२:५१:५४ | राजकुमार बडुवाल
unn.prixa.net

काठमाण्डौ – मिसकल आयो, लामो घण्टी बजेन । हुन त मिसकल जस्तो पनि थिएन । त्यही पनि मैले हतार हतारमा हेरें । घरको नम्बर रहेछ । मोबाइलमा पैसा थियो । यतैबाट फोन गरें । उताबाट बुवा बोल्नुभयो ।

के छ खबर ? कस्तो छ ? यस्तै कुराकानी भयो । दिनभर गरेका काम बुवाले एक, एक गरेर सुनाउनुभयो । मैले पनि सुनाएँ ।

कुराको अन्त्यतिर एक मनले भन्दै थियो, बुवासँग अलिअलि भए पनि पैसाको कुरा गरौँ । तर अर्को मनले भन्या,  पैसा त तेरो बुवासँग पनि छैन, कसरी कुरा गर्छस ?

मैले बुवासँग पैसोको कुरा गर्ने आँटै गरिनँ । किनभने आफूजस्तै साथीहरुले पढाइसँगै अलिअलि भएपनि पैसा कमाउन थालेका छन् । म अझै पढाइ गर्दैछु ।

यसैले पनि पैसाको लागि बुवासँग कुरा गर्न सकिनँ । म पढाइका लागि काठमाण्डौ छिरेको ३ वर्ष भयो । मेरो घर कर्णाली प्रदेशको दैलेखमा हो ।

मैले एसएलसीसम्म गाउँमै पढें । त्यसपछिको उच्च शिक्षा सुर्खेतमा पढेँ ।  अहिले प्राणिशास्त्र केन्द्रीय विभागमा एमएससीको अन्तिम सेमेस्टरको परीक्षा दिएर थेसिस लेखिरहेको छु ।

म कीर्तिपुरमा बस्छु । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले यतिखेर विश्व नै त्रासमा छ । नेपालको अहिलेको स्थिति हेर्दा डर लाग्छ । 

लकडाउनका ती दिन

कुरा वैशाख अन्तिमतिरको हो । काठमाण्डौमा लकडाउन थियो । चैत ११ देखि नेपालमा लकडाउन भए पनि यति लामो हुन्छ भन्ने थाहा थिएन ।

एक, दुई हप्तासम्म मात्र लकडाउन होला फेरि फर्कनै पर्छ भन्ने मनसायले घर पनि गइनँ । यसबीचमा मैले धेरै दुःख पाएँ । 

लकडाउनमा यातायात, विद्यालय, बजार मात्र हैन, बैंक पनि बन्द थिए । घरबाट पैसा  माग्ने अवस्था थिएन । मसँग भएको पैसा पनि सकियो ।  अब के गर्ने ? 

चिनेका आफन्त, साथीभाइ सबैलाई फोन गरें । कसैले वास्ता गरेनन् । कहिलेकाहीँ सहयोगको आश्वासन दिने एक, दुई जना साथीहरु थिए ।

जसले चाहेमा सहयोग पनि गर्न सक्थे । केही आशासहित उनीहरुलाई फोन गरें । तर फोन नै उठाएनन् । दुःखमा साथीभाइ पनि आफ्ना हुँदा रहेनछन् । 

तीन सयले १० दिन काटें

लकडाउन लम्बिंदै गयो । भएको पैसा सकियो । खाने कुरा सकियो ।  अब के गर्ने, कसो गर्ने भनेर म आत्तिएँ । खल्तीमा एक सुको थिएन ।

कसलाई भन्ने ? यसै बीचमा मेरो मनमा नयाँ विचार आयो ।

मसँग तीन वटा पानीका जार थिए । एउटा जार बेचे तीन सय रुपैयाँ आउँछ । मलाई दुई वटा जार भए पनि पुग्छ ।

मैले त्यसै गरेँ । तीन वटा जारमध्ये एउटा बेचें ।  जसबाट तीन सय रुपैयाँ आयो । यही पैसाले १० दिन खर्च चलाएँ । लकडाउन अझै थपिंदै गयो । 

सरकारले कोठाभाडामा बस्ने विद्यार्थी र मजदुरलाई राहात बाँडिरहेको समाचार सुनेको थिएँ । तर, मैले त्यही राहात पनि पाइनँ । 

जसरी भए पनि बाँच्नु थियो । त्यसका लागि पैसा चाहियो । विकल्प छैन, के गर्ने ?

केही दिनअघि एक जना दाइले मलाई (खाट) खटिया  चाहिएको थियो भन्दै कुरा गर्नुभएको थियो । मसँग दुई वटा खाट थिए । त्योमध्ये एउटा बेच्ने योजना बनाएँ ।

दाईलाई फोन गरेँ, ‘दाई तपाईंलाई खटिया चाहियो भन्नुभएको हैन । मसँग भएको एउटा खाट छ एको हो । म बेच्छु ।’

दाइले भन्नुभयो,  कतिमा ?

मैले भनें, आउनुहोस् न कुरा गरौंला यतै । 

केही समयपछि दाई आउनुभयो । त्यो खाट १ हजार ५ सय रुपैयाँमा बेचेँ । ल केही खर्च टर्छ भन्नेमा ढुक्क थिएँ । फेरि ग्याँस सकियो ।

ग्याँस नै नभए के खाने ? १ हजार ३ सय ६५ मा रुपैयाँमा ग्याँस भरें । बाँकी रहयो १ सय २५ रुपैयाँ । फेरि तनाव भयो अब के खाने ? आपत नै प¥यो । 

फेरि एक, दुई जनालाई कल गरें । कसैले रिसिभ गरेनन् । 

घरबेटीको कचकच

लकडाउनमा बाँच्नलाई आपत परिरहेको बेला घरबेटीले दिनहुँ पैसा मागेर सताउन थाले । सरकारले लकडाउनमा घरबेटीलाई भाडा नलिन भनेको थियो । 

समाचार पनि हेर्थें, धेरैजसो घरबेटीले भाडा नलिएको, खानेकुरा किनेर दिएको भन्ने सुनिन्थ्यो । लाग्थ्यो मेरो घरबेटीको पनि यस्तै दिल भएको भए ! 

तर सबै यस्तै दिलदार कहाँ हुन्थे र ? भोलिपल्टै घरबेटी भाडा माग्न आए । मेरो एक महिनाको कोठा भाडा, फोहोर, बिजुली गरेर एक महिनाको ४ हजार ६ सय ९० रुपैयाँ भएको थियो ।

मैले घरबेटीलाई भनें, ‘अंकल अहिले मलार्ई नि गाह्रो छ । घरबाट पनि पैसा आएको छैन । यस्तो बेलामा अलि पछि दिन्छु नि ।’ घरबेटीले के मान्थे र ? जसरी हुन्छ पैसा चाहिन्छ भन्दै गए । 
पढाइको चिन्ता

यस्तो समस्या त मैले भोगिरहेको थिएँ । फेरि अनलाइन कक्षा हुने कुरा भयो । न मसँग वाइफाई नै छ, न डाटा किनेर इन्टरनेट चलाउने हैसियत नै । 

समस्यामाथि समस्या थपियो । जसरी पनि मैले अनलाइन कक्षामा जोडिनु नै थियो । मैले भएको पैसा रिचार्ज गरेर प्याक लिएर कक्षामा जोडिएँ ।  

यसरी मेरो कहिले पेटभरी खाएर कहिले भोकै बसेर लडकउनका दिन बिताएँ । 

फेरि डर लाग्छ

यस्तो समस्या सायद कोठाभाडामा बसेर पढ्ने सबैलाई भयो होला । कतिपय मेरै साथीहरु पनि यस्तै समस्यामा थिए । 

जसोतसो करिब  चार महिनाको  लकडाउन त कट्यो । अहिले कोरोना सङ्क्रमणको अवस्था अझै डरलाग्दो छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा लगाइएको छ । लकडाउनका ती दिन सम्झेर कतै निषेधाज्ञा पनि  बढ्दै गएर अझै त्यस्तै पीडादायी दिनहरु आउने त हैनन् ?
 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया