नेकपा स्थायी कमिटी बैठक आज : सहमतिको प्रयास भइरहे पनि अध्यक्षद्वयको अडान कायमै

 पुस ५, २०७७ आइतबार ७:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना भने कमै देखिएको छ ।

हिजो दिनभर प्रधानमन्त्री ओली सहमतिका लागि प्रचण्डलगायत पार्टीका नेताहरुसँगको भेटघाटमै व्यस्त बन्नुभएको थियो । प्रचण्ड निवास खुमलटारमै पुगेर ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो, तर प्रचण्डले भने प्रस्ताव फिर्ता लिन अस्वीकार गर्दै स्थायी कमिटीमै छलफल गर्ने अडान लिनुभएको छ ।

ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर  दिनुभएको थियो ।

अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ । तर, दुवै अध्यक्षबीच संवाद र छलफलमार्फत पार्टीभित्रको विवाद समाधान गर्ने प्रयासहरु भइरहेको नेताहरुले बताएका छन्।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया