बाँदरले मान्छेलाई टेर्न छाड्यो, हेरालुले नसकेपछि अर्को उपाय खोजिँदै

 भदौ ३, २०७५ आइतबार १३:१७:४२ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाका प्रायः सबै गाउँका बारीमा अहिले मकै पाक्ने बेला भएको छ । पाक्न ठिक्क परेको मकै जोगाउन किसानलाई निकै कष्ट छ । 

मकै खाइदिने दुम्सी, मुसा, सुगा, लोखर्के जस्ता चराचुरङ्गी र जीवजनावरले भन्दा एकैपटक हुलै आएर नास गर्ने भएकाले बाँदरदेखि जिल्लाका किसान बढी समस्यामा परेका छन् । स्थानीय सरकारले बाँदर लखेट्न हरेक वडामा हेरालु राखे पनि  समस्या कम नभएको किसानको गुनासो छ ।   

बिहान झिसमिसेदेखि नै बारीमा मान्छे पुग्नै पर्छ । बालबालिका समेत मकै कुर्न जानु पर्ने भएकाले हिजोआज गाउँका विद्यालयमा विद्यार्थी गयल भएका छन् । ‘वर्षदिनको खेती त्यही मकै हो, नकुरे खान पाईंदैन‘ खानीगाउँ आधारभूत विद्यालय कल्लाबारीका प्रधानाध्यापक नलबहादुर साथीघरे  भन्नुहुन्छ, ‘बाँदर कुर्नु पर्दा विद्यार्थी गयल भैरहेका छन् ।’

किसानका मुख्य बाली नै मकै भएको भन्दै उहाँले ३ महिना खान नपुग्ने परिवारको मकै बाँदरले खाँदा एक महिना पनि नहुने बताउनुभयो । 

मान्छेलाई बाँदरले टेर्न छोड्यो

बगनासकाली ७ कल्लाबारीका ७५ वर्षीय टंकनाथ घिमिरेका अनुसार पहिले जस्तो हिजोआज बाँदरले मान्छेलाई टेर्न छाडेको छ ।  ‘पहिले बाँदर तर्साउन भरुवा बन्दुक पड्काउने चलन थियो’ उहाँले विगत सम्झँदै भन्नुभयो, ‘युद्धकाल र चुनावमा प्रशासनले हतियार खोसेपछि गाउँ बन्दुकविहीन भयो, गुलेली र लौरोलाई बाँदरले टेर्न छाडेको छ ।’ 

‘उबेला बाँदर मार्ने पनि चलन थियो, अहिले मारे सरकारले थुन्छ रे’ स्थानीय ६१ वर्षीय भवानीशंकर .गैरेले भन्नुभयो ‘यो बाँदरलाई के गर्ने हो, चाँडै तह लगाए हाईसञ्चो हुने थियो ।’

पहिला गाउँभरी मान्छे हुन्थे, हारगुहार पनि पाइइन्थ्यो । ‘अहिले मान्छे नै छैनन्’ मकै कुर्न बारीको डिलमा बसिरहेका दैलातुङ्ग, मौवाखर्कका ३५ वर्षीय देवी भट्टराईले भन्नुभयो ‘युवाहरु खाडीमा छन्, बारीमा पुग्ने बुढाखाडा र आईमाई केटाकेटीलाई बाँदरले समेत फिटिक्कै टेर्न छाडेका छ ।’

स्थानीय सरकारको असफल प्रयास

दुई नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको पाल्पाका प्रायः सबै स्थानीय सरकारले बाँदर नियन्त्रणका लागि समिति नै बनाएका छन् । गएको आर्थिक वर्षमा ५ ÷५ लाख रुपैयाँ बजेट छुट्याएरै बाँदर धपाउन हरेक वडामा हेरालु राखेका स्थानीय सरकारले आगामी आर्थिक वर्षलाई पनि बजेट छुट्याएका छन् ।  एक वर्षसम्म हेरालु राख्दा पनि समस्या कम नभएपछि अब बाँदर समाउने मान्छे र राख्ने निकुञ्जको खोजीमा रहेको स्थानीय सरकारले जनाएका छन् ।
 
कास्कीको रुपाकोटमा भारतको उत्तर प्रदेशबाट मान्छे ल्याएर ६ सय बाँदर समातेर राष्ट्रिय निकुन्जमा पठाएको जानकारी पाएको भन्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले त्यही उपाय अपनाउन लागेको जानकारी दिनुभयो ।  ‘जनकपुरको वन विभागसँग पनि सम्पर्क गरेका छौं’ अध्यक्ष बस्यालले भन्नुभयो, ‘बाँदर नियन्त्रणका लागि प्रदेश र केन्द्रीय सरकारसँग हाम्रो छलफल भैरहेको छ ।’

आक्रामक बन्दै बाँदर 

६ महिनाको अवधीमा मात्रै पाल्पामा बाँदरले आक्रमण गर्दा ४ जना घाइते भएका छन् ।  तानसेन नगरपालिका १३ बौगागुम्बामा विद्यार्थी सहित तीनजना र बगनासकाली गाउँपालिकाको बराङदीमा एक महिलालाई बाँदरले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको  छ । प्रहरीका अनुसार  तानसेन १४ स्थित शारदा मावि छेलुङ्गमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीया कल्पना माझी, स्थानीय ४० वर्षीया शान्ति बस्याल र ४२ वर्षीय लक्ष्मी बस्याललाई बाँदरले आक्रमण गरी घाईते बनाएको हो ।  

बाँदर आक्रमणबाट घाइते हुनुभएकी बगनासकाली गाउँपालिका ८ बराङदी घिउसिवासकी ४५ वर्षीया देवीसरा राना झण्डै एक हप्ता उपचारका लागि अस्पताल नै भर्ना हुनुपरेको थियो । बच्चालाई आक्रमण गर्न खोज्दा बाँदर लखेट्ने क्रममा रानालाई हातमा टोकेर घाइते बनाएको थियो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया