सोलुखुम्बुकाे लोदिङमा क्लबकाे भवनसहित तीन वटा घर पहिराेकाे जाेखिममा

 असार २३, २०८० शनिबार १६:५७:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुदूधकुण्ड नगरपालिका-३ लोदिङमा क्लबकाे भवनसहित तीन वटा घर पहिराेकाे जाेखिममा परेका छन् । सडक विस्तारको क्रममा  पहिरो गएपछि लोदिङ सृजनशील युवा क्लबको भवनसहित तीन वटा घर पहिराेकाे जाेखिममा परेका हुन् । 

पहिरो बढ्दै जाँदा घरहरु समेत चर्किँदै गएपछि स्थानीय हस्तबहादुर विश्वकर्मा र शान्त विश्वकर्माको परिवार विस्थापित भएका वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनु भयाे । 

निरन्तरको वर्षातसँगै सडक खन्दा शुरु भएको पहिरोले घर समेत तान्ने खतरा भएपछि वडाको पहलमा परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष शेर्पाको भनाइ छ। पहिरोले घर जोखिममा परेपछि विश्वकर्माद्वयको परिवारलाई तत्काललाई छिमेकीको घरमा आश्रय लिएर राखिएको छ ।

घरमुनिबाट खनिएको सल्लेरी–तामाखानी–पिके सडक खण्डकाे मर्मतको क्रममा ठेकेदार कम्पनीले बस्तीको ख्याल नगर्दा आफ्नो बास नै उठेको पीडित हस्तबहादुर विश्वकर्माले गुनासो गर्नुभयो । पहिरोको जोखिम रहेको त्याे ठाउँमा सडक चौडा गर्ने क्रममै कम्पनीलाई सचेत गराएको भए पनि ठेकेदारले मनोमानी रुपमा डोजर चलाउँदा विपत्ति आइलागेको अर्का पीडित शान्त विश्वकर्माले बताउनु भयाे । 

विस्थापित परिवारलाई वडा कार्यालयले राहतस्वरुप पाल र बाल्टिन प्रदान गरेको छ । त्यही पहिरोले क्लबकाे भवनमा क्षति पुगेको सचिव ल्हाक्पा ग्याल्जेन शेर्पाले बताउनुभयो । भवन पहिरोको चपेटामा परेपछि त्यसभित्र रहेका क्लबका सामग्रीहरु अन्यत्र सारिएको सचिव शेर्पाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्त भट्टराईले पहिरो रोकथाम तथा पीडितको मागलाई सम्बोधन गर्न पूर्वाधार विकास कार्यालय ओखलढुङ्गालाई निर्देशन दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया