जनप्रतिनिधिले लगाए जिल्ला समन्वय समितिमा ताला

 साउन ५, २०८० शुक्रबार १९:२५:१२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुका जनप्रतिनिधिले समन्वय समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । समन्व समितिका पदाधिकारीले नै निर्णय गरेर समन्वय अधिकारी फिर्ता हुनु पर्ने भन्दै समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।

सरुवा भएको दुई महिना बितिसक्दा पनि समन्वय अधिकारीले रवाना नबुझी कार्यालयमा बसेर पदाधिकारीलाई असहयोग गरेको र समितिको निर्णय कार्यान्वयन गरेको भन्दै जनप्रतिनिधिले आज शुक्रवार कार्यालयमा तालाबन्दी गरेका हुन् । समन्वय समितिका सात जना सदस्य उपस्थित भएर तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ । 

गएकाे वैशाख २५ गते सरुवा भएकी समन्वय अधिकारी उर्मिला काफ्लेले रवाना बुझ्न नमानी कार्यालयमा बसेर असहयोग गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको समन्वय प्रमुख कृष्णप्रसाद निरौलाले बताउनुभयाे । समन्व अधिकारी काफ्लेले जिल्लासभा नै बिथोल्ने काम गरेको, निर्णयहरू कार्यान्वयन नगरेको साथै कार्यालयमै नआउने गरेर अनिर्णयको बन्दी बनाएकाले तालबन्दी गर्नुपरेकाे समन्वय समिति सदस्य पेम्बा शेर्पाले बताउनुभयो ।

अधिकारी काफ्लेलाई गएकाे २५ गते नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुलीमा सरुवा गरेको थियो । मन्त्रालयले सुरुवा गरे पनि काफ्लेले रवाना पत्र बुझ्न मान्नुभएको छैन । उहाँले आफ्नो सुरुवा भएको स्वीकारे पनि कार्यालय भने नछाड्ने अडान राख्नुभएको छ । समन्वय प्रमुखले भन्दैमा आफू कार्यालय नछाड्ने तर मन्त्रालयले बोलाए तत्काल जान तयार रहेको अधिकारी काफ्लेको भनाइ छ । पदाधिकारी र कर्मचारीकाे द्वन्द्वका कारण विगत छ महिनादेखि समन्वय समितिमा काम हुन नसकेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया