‘रासायनिक मल र विषादी नराखी उत्पादन गरिएका बन्दा किलाेकाे १० रुपैयाँमा पनि बिकेन’

 साउन २१, २०८० आइतबार १९:५५:१५ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुका किसानले आफूहरूले उत्पादन गरेको बन्दाले भाउ नपाएको गुनासो गरेका छन् । रासायनिक मल र विषादीको प्रयोगविना उत्पादन गरिएका अर्गानिक बन्दा किलोको १० रुपैयाँमा बिक्री गर्न पनि कठिन भएको सोलुदुधकुण्ड नगरपालिका–६ छुल्यामुका राजु विश्वकर्माले बताउनुभयो ।

उहाँले झन्डै ३० किलो बन्दा साप्ताहिक हाट नयाँ बजारमा बिक्रीका लागि ल्याउनुभएकाे थियाे । मेहनत गरेर उत्पादन गरेको अर्गानिक बन्दाले मूल्य नपाउनु त छँदैछ अर्कोतर्फ सस्तो मूल्यमा समेत बिक्री नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । नयाँ बजारमै खोरियाकी ल्हेमी लामाले पनि बन्दा बिक्रीका लागि ल्याउनुभएकाे थियाे । तर कौडीको भाउमा समेत बन्दा बिक्री नभएपछि के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ । बिक्री नभएको बन्दा बजारमै छोड्ने वा फिर्ता लैजाने भन्नेमा उहाँ दोधारमा हुनुहुन्छ ।

नयाँ बजारमा शनिवार बन्दा प्रतिकिलो १० देखि २० रुपैयाँसम्ममा बिक्री भएको थियो । किसानले मेहनत गरी लगाएको बन्दाले लगानी त परको कुरा गाडी भाडासमेत उठान मुस्किल भएपछि उनीहरू चिन्तित बनेका छन् ।

तरकारीले बजार तथा मूल्य नपाउँदा कुहिएर खेर जाने अवस्थामा पुगेको लोखिम घर भई सल्लेरीमा तरकारी खेती गर्दै आउनुभएका सन्देश राईले बताउनुभयो । तराईबाट भित्रिने तरकारीका कारण आफूहरूको उत्पादन नबिकेको किसानहरूको गुनासो छ । 

जिल्लामा बन्दा उत्पादन बढी र खपत कम हुँदा अर्गानिक उत्पादन वस्तुभाउलाई खुवाउन किसान बाध्य छन् । अर्कोतर्फ तराईबाट भित्रिने रसायनयुक्त तरकारीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा स्थानीय उत्पादन कुहिएर खेर जाने अवस्थामा पुगेका छन् । जसका कारण तरकारी खेतीबाट आम्दानी गर्ने सोचका साथ अघि बढेका किसानहरू चिन्तामा छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया