सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो

 भदौ ३०, २०८० शनिबार २०:४३:३० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आज शनिवार दिउँसो अन्दाजी २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाति लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पुर्‍याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताउनुभयो । 

स्थानीयका अनुसार गएराति भालुले मकैबालीमा क्षति पुर्‍याएको थियो । मकैको ढोर उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ ।

शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया