आईपीएल क्रिकेटमा गुजरात र राजस्थानको विजयी शुरुवात

 चैत १२, २०८० सोमबार ६:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इडियन प्रिमियर लिग (आईपीएल) को आफ्नो पहिलो खेलमा गुजरात टाईटन्सले मुम्बई इण्डियन्सलाई हराएको छ । गएराति भएको खेलमा गुजरातले ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ३८ बलमा सर्वाधिक ४६ रन बनाए ।

यस्तै ओपनर रोहित शर्माले २९ बलमा ४३ रन हाने । तिलक बर्माले २५ तथा नमन धिरले २० रनको योगदान दिए । गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले समान २–२ विकेट लिए । यस्तै साई किशोरले १ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले २२ बलमा ३१ रन जोडे । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए ।  मुम्बईका जस्पृत बुम्राहले ३ विकेट लिए । यस्तै जेराल्ड कोट्जीले २ तथा पियुस चावलाले १ विकेट लिए ।

यसअघि हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई २० रनले हरायो । पहिलो संस्करणको विजेता राजस्थानले  दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन मात्र बनाउन सक्यो ।

आईपीएलमा आज पंजाब किंग र रोयल च्यालेन्जर्स बेंगलूरु खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे  शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया