उपचुनाव : एमालेले उम्मेदवार टुंगो लगाएपछि अरु दलहरु दबाबमा

 चैत १२, २०८० सोमबार ९:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो वैशाख १५ गते हुने उपचुनावको लागि मुख्य दलहरु उम्मेदवार छनोट र प्रचार अभियानमा जुटेका छन् । एमालेले उम्मेदवार टुंगो लगाएर प्रचार अभियान थालिसकेको छ भने अरु दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कांग्रेसमा उम्मेदवारको नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । सत्तारुढ माओवादी, जसपा र एकीकृत समाजवादीले उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उम्मेदवारी दिने बताएको छ । तर एमालेले रास्वपालाई मनाउनको लागि पहल गरिरहेको छ । निर्वाचन आयोगले आउँदो २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौमा हृदयघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परी निधन भएपछि ती क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कानुनमा स्नातक सुहाङ संविधानसभा अध्यक्ष स्वर्गीय सुवासका कान्छा छोरा हुनुहुन्छ । कानुन विषयमा स्नातक ३२ वर्षीय सुहाङ पेसाले वकिल पनि हुनुहुन्छ । उहाँलाई एमालेले एक महिनाअघि केन्द्रीय कानुन विभाग सदस्य मनोनीत गरेको थियो ।

इलाम २ पहिलेदेखि एमालेले जितिरहेको क्षेत्र हो । यस क्षेत्रमा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आउनुभएको थियो । २०५६ सालको आमचुनाव, २०६४ को पहिलो र २०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ र २०७९ मंसिरको आमचुनावमा पनि सुवास नेम्वाङले निरन्तर जित्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया