भोटेकोशी र त्रिशूलीको उर्लिंदो भेलले कति घर बगायो । कति सपना बगायो र कति परिवारका आफन्तलाई बेपत्ता बनायो । त्यसको हिसाब गरेर साध्य छैन । अहिले नदीको किनार, पाखा र बगरमा भेटिन थालेका शवले विपद्को अर्को भयावह पाटो देखाइरहेका छन् ।
यी शव कसै न कसैका बुबा हुन्, कसैकी आमा, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान, श्रीमती वा सन्तान । परिवार हराएको आफन्तको सास या लासको पखाईमा छ ।
अहिलेसम्म भेटिएका सात सयभन्दा धेरै शव चिन्नै नसक्ने अवस्थाका छन् । तर, शवमा रहेका लुगाफाटा, गहना, साथमा भेटिएका सामग्रीले उनीहरुको पहिचान बोकेका छन् । यस्तो अवस्थामा शवबाट गहना निकाल्नु चोरी मात्र होइन, कसैको आफन्तसम्म पुग्ने अन्तिम प्रमाण नै मेटाउनु हो ।
त्यसैले बाढीमा भेटिएको शवबाट गहना निकाल्ने वा लुगाफाटा तथा अरु सामग्री हटाउने काम सामान्य चोरी होइन, गम्भीर अपराध हो । यो मृत शरीरप्रति र उनीहरुका परिवारको घोर अनादर हो । आफ्ना प्रियजनको खोजीमा तड्पिरहेका परिवारको पीडामाथि निर्मम प्रहार हो ।
मरेपछि पनि मानिसको सम्मान हुन्छ । शवले बोल्न सक्दैन । आफ्नो नाम भन्न सक्दैन । ‘म फलानोको छोरा हँ’, ‘म फलानाकी आमा हुँ’, ‘म फलाना परिवारको सदस्य या फलानाको नातेदार हुँ’ भनेर चिनाउन सक्दैन । त्यसैले उसले छोडेर गएको कपडा, गहना, कागजात वा शरीर नै उसको अन्तिम परिचय बन्न सक्छ । त्यही परिचय लुटिदिनु भनेको एउटा परिवारलाई आफ्नै मान्छे भेट्ने अधिकारबाट वञ्चित गर्नु हो ।
अहिले अर्को चुनौती शव व्यवस्थापनको पनि छ । एकातिर शवको संख्या बढ्दैछ, अर्कोतिर शव राख्ने सुरक्षित ठाउँको अभाव छ । संक्रमणको जोखिम बढेपछि सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ल्याएर पहिचान हुन नसकेका शव व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ ।
सनाखत नभएका शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय सुन्दा कतिपयलाई असहज लाग्न सक्छ । तर यो शव नष्ट गरिएको होइन । तत्कालका लागि सुरक्षित राख्ने उपाय हो ।
परिवार वा आफन्तले पछि डीएनए परीक्षणलगायतका प्रमाणबाट शवको सनाखत गरेमा आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनिबाट निकालेर हस्तान्तरण गर्नु यसको मूल उद्देश्य हो । यसरी राखेको शव हराउँदैन, प्रमाण मेटिँदैन र आफन्तले खोज्दा भविष्यमा भेटिन्छ पनि ।
विपद्को समयमा राज्यले शव व्यवस्थापन गर्नुपर्छ, तर समाजले पनि आफ्नो मानवीय जिम्मेवारी बिर्सनु हुँदैन ।
नदीले बगाएर ल्याएको शव देख्दा सम्मानपूर्वक सूचना दिनुपर्छ । शव भेटिएमा त्यसमा भएका सामान चलाउनु हुँदैन । गहना, कपडा वा अन्य सामग्री निकाल्नु हुँदैन । नजिकको प्रहरी वा प्रशासनलाई खबर गर्नुपर्छ ।
आज त्यो शव अपरिचित होला । भोलि डीएनए परीक्षणले उसको नाम बताउन सक्छ । र, त्यो नामले परिवारको टुटेको आश बौराउन मद्दत गर्छ । त्यसैले यस विपदमा प्राण गुमाएका तर तत्कालका लागि पहिचान गुमाएका मृत शरीरप्रति मानवीय संवेदना र सम्मान कायम राखौैँ ।