नेभिगेशन
आइतबार, कात्तिक २२, २०८३

इजरायलमा पूर्वसैनिक प्रमुख आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई जिम्मेवारी दिनुभएको छ ।

हालै भएको चुनावमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र आइजेनकोट नेतृत्वका कुनै पनि गठबन्धनले संसद्मा बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले आइजेनकोटलाई पहिलो अवसर दिने निर्णय गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार हर्जोगले आफ्नो निर्णयबारे आइजेनकोट र नेतान्याहू दुवैलाई जानकारी गराइसक्नुभएको छ । नयाँ संसद्का सदस्यसँगको परामर्शमा आइजेनकोटलाई प्रधानमन्त्री बनाउन ६७ र नेतान्याहूलाई ४६ जनाले समर्थन जनाएका थिए ।

अब आइजेनकोटले सरकार गठनका लागि २८ दिनको समय पाउनुहुन्छ । आवश्यक परे १४ दिन थप समय पनि रहनेछ । पूर्वसैनिक प्रमुखसमेत रहेका आइजेनकोटलाई गठबन्धनभित्रै सहमति जुटाउन भने चुनौती छ ।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् । आइजेनकोटको मध्यमार्गी याशार पार्टीसहित उनको गठबन्धनमा रहेका चार यहुदी दलले ४८ सिट जितेका छन् ।

त्यस्तै, अरब समुदायको नेतृत्वमा रहेका युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । उनीहरूको समर्थन सरकार गठनमा निर्णायक हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति:
थप विश्व