सोलुखुम्बुको तापक्रम माइनस १८ डिग्री सेल्सियसमा झर्‍याे

 पुस १३, २०७५ शुक्रबार १९:२१:२० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्ममा झरेको छ ।

चिसोका कारण स्थानीयलाई दैनिक कार्य सञ्चालन गर्न तथा बाहिर निस्कन समेत समस्या भएको स्थानीयवासीले बताएका छन् । सोलुखुम्बु सदरमुकाम सल्लेरीको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियसमा झरेको मौसम अवलोकनकर्ता राधा बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको हो । सल्लेरी तथा आसपासका क्षेत्रमा शुक्रबार सामान्यदेखि हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यस्तै सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा आधिकारीक मौसम मापन केन्द्र नभए पनि एभरेष्ट भ्यू होटलको तथ्यांक अनुसार शुक्रबारको त्यहाँको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म पुगेको छ ।

जुन यस सिजनकै सबैभन्दा कम तापक्रम भएको बताइएको छ । त्यहाँका खोलाहरु समेत पुरै जमेको स्थानीय ल्हाक्पा शेर्पाले बताउनुभयो । चिसो अत्याधिक बढेकाले पर्यटकहरुको आगमन समेत ह्वात्तै घटेको पर्यटन व्यवसायी नाम्गेल शेर्पाले बताउनुभयो ।

चिसोका कारण माथिल्लो क्षेत्रका धेरै जसो होटलहरु समेत बन्द भएका छन् । खुम्बु क्षेत्रमा यो सिजनको पर्यटक सिजन झण्डै–झण्डै सकिएकाले अधिकांश होटल व्यवसायीहरु होटल बन्द गरेर काठमाडौंलगायत अन्य शहरहरुको भ्रमणमा जाने गरेको खुम्बु पासाङ ल्हमु गाउँकार्यपालिकाकी सदस्य उमा बराइलीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया