मकालु आधार शिविरबाट बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा आए

 माघ ११, २०७५ शुक्रबार ६:३६:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमपातका कारण तीन दिनदेखि बेपत्ता चारजना पर्वतारोही सम्पर्कमा आएका छन् । संखुवासभामा पर्ने मकालु आधार शिविरबाट सम्पर्कविहीन बनेका खुम्बु पासमङल्हामु गाउँपालिका १ का पेम्वा जाङ्बु शेर्पा, दारिन्जी शेर्पा, पेम्वारिन्जी शेर्पा र पासाङ गेलु शेर्पा याङली भन्ने ठाउँबाट सम्पर्कमा आएका हुन् । 

उनीहरु बिहीबार साँझ स्याटलाइट फोनमार्फत सम्पर्कमा आएको उनीहरुलाई पदयात्रामा लैजाने ट्रेकिङ कम्पनी आईएएम ट्रेक्स प्रालिका प्रबन्धक फुनुरु शेर्पाले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरी काठमाण्डौ लगिने प्रबन्धक शेर्पाले बताउनुभयो ।

‘पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही मध्यभागमा पुगेपछि निरन्तर हिमपातका कारण अलपत्र परेको बताइएको छ । 'जर्मन–नेपाल फ्रेण्डसिप ट्रेक' नाम दिएर हिउँदमा पनि उच्च क्षेत्रमा पदयात्रा गर्न सकिन्छ भन्ने सन्देश दिन उच्च ग्रेट हिमालयन ट्रेलको पदयात्रामा निस्केको ट्रेकिङ कम्पनीले जनाएको छ ।

३६ घण्टा लगातार हिमपात भएपछि अघि बढ्न र पछाडि फर्कन नसकेर लाङमालेखर्कमा रोकिएको जानकारी स्याटेलाइट फोनमार्फत उनीहरुले कम्पनीलाई गराएका थिए । उनीहरुले नेपालमा पहिलो पटक हिउँदमा उच्च हिमाली भेगमा पदयात्रा गर्न सकिने सन्देश दिन दुई महिने पदयात्रा सुरु गरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया