घाेराही : गाउँ–गाउँ पुगेर स्वाब सङ्कलन, घर–घर स्वास्थ्यकर्मी पठाएर उपचार

 जेठ २०, २०७८ बिहिबार २०:२६:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले गाउँमा कोरोना भाइरसका सङ्क्रमित बढ्न नदिन गाउँमै निःशुल्क कोरोना परीक्षण र घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार सुरु गरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले नगरभित्रका गाउँ–गाउँमा पुगेर निःशुल्क कोरोना परीक्षणको शिविर सञ्चालन गरेको हो ।

समुदायस्तरमा कोरोनाको अवस्था पत्ता लगाउने गरी निःशुल्क एन्टिजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ । परीक्षण स्थलमै १५ मिनेटमा कोरोना सङ्क्रमण भए/नभएको पत्ता लगाउने गरी एन्टिजेन परीक्षणलाई समुदायस्तरमा लगिएको उहाँको भनाइ छ ।

कम खर्चिलो, परीक्षण स्थलमै रिपोर्ट आउने, सङ्क्रमितको समय मै उपचार व्यवस्थापनमा सहज हुने भएकाले समुदायस्तरमा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएकाे उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको भनाइ छ । कतिपय बिरामीको पीसीआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुँदा स्वास्थ्य अवस्था नाजुक र ज्यानसमेत जाने गरेकाले समयमै सङ्क्रमणको पहिचान गर्न यो विधिलाई शिविरमार्फत नगरका वडा–वडामा लगिएको उहाँले बताउनुभयो ।

साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिँदै आएको छ । तीन जनासम्मको टोली बनाइ सङ्क्रमितको घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरिएको उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । सङ्क्रमित भइ घरमै बसेकाहरूको मनोबल बढाउने, स्वास्थ्य जाँच गर्ने, औषधि तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मी घर–घरमै पुगेको उहाँको भनाइ छ ।

यस्तै सङ्क्रमितहरुलाई भेट्न वडाध्यक्षसमेत पुग्ने गरेका छन् । आत्मबल उच्च बनाउन र आवश्यक औषधि एवम् स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी सङ्क्रमितकाे घर–घर पुग्ने गरेका हुन् ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया