यस्तो छ दाङका दुई उपमहानगरपालिकाको बजेट

 असार १०, २०७८ बिहिबार २०:४१:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि दुई अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगर सभामा आज उपमेयर सीता सिग्देल न्यौपानेले आउँदाे आर्थिक बर्षका लागि विकासतर्फ एक अर्ब सात करोड २५ लाख ९५ हजार रुपैयाँ र चालुतर्फ एक अर्ब १३ करोड दुई लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रवर्द्धन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी सामाजिक विकास अन्तर्गत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रवर्द्धनका लागि ११ करोड ४१ लाख, कोरोना सङ्क्रमितको उपचार, व्यवस्थापन र ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै उपमेयर न्यौपानेले कोरोना मनोसामाजिक परामर्शका लागि १५ लाख, खोप व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयाे । 

स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि दुई करोड ४० लाख, निःशुल्क रक्त सञ्चारका लागि आठ लाख, आमा सुरक्षाका लागि १५ लाख, निःशुल्क मोतियाबिन्दु शल्यक्रियाका लागि आठ लाख, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका लागि आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षातर्फ स्नातक तहका अन्तिम वर्षका जेहनदार विद्यार्थीलाई पेड इन्टर्नशिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग दलित, मुस्लिम, पिछडा वर्ग, मुक्त कमलरी, द्वन्द्व पीडितहरूको उत्थानका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी आर्थिक विकास अन्तर्गत चार करोड ६० लाख चार हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ सडक पिच, ग्राभेल तथा स्तराेन्नतिका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे पाँच करोड, सिँचाइका लागि चार करोड ६५ लाख, पुल कल्भर्टमा दुई करोड ४० लाख, पर्यटन पूर्वाधारतर्फ एक करोड ३४ लाख, विद्युत् विस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी सरसफाइतर्फ एक करोड पाँच लाख ५० हजार, खरको छानो विस्थापित गर्न साढे दुई करोड, विपद् व्यवस्थापन कोषमा एक करोड, जोखिमयुक्त जलाशय तारबार, हरियाली प्रवर्द्धन , भूक्षय रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

तुलसीपुरकाे बजेट यस्तो  

दाङको तुलसीपुर उपमहानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि तीन अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर माया शर्माले ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैँका लागि’ भन्ने मूल नाराका साथ आउँदाे आर्थिक वर्षकाे बजेट सार्वजनिक गर्नुभएको हाे । 

बजेटमा आन्तरिक स्रोतबाट ६० करोड, सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँडबाट दुई अर्ब १७ करोड ९६ लाख १५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने नाै करोड ७८ लाख १९ हजार र अन्य सङ्घ–संस्थाबाट प्राप्त दुई करोड २५ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

यसमा पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अर्ब ६२ करोड १६ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन गरिएको छ ।
उहाँले स्वास्थ्य, कृषि, रोजगार, गरिबी निवारण तथा शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया