च्याउबाट आम्दानी लिँदै ऋषिराम : '२५ सयबाट सुरु भएको व्यवसाय १५ लाखकाे भयाे'

 फागुन ५, २०७८ बिहिबार १४:५:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीका लागि १६ वर्षअघि २५ सय रुपैयाँ सुरु गरेको च्याउखेती अहिले राम्राे आम्दानीको स्रोत बनेको छ ।

च्याउ खेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएकाे छ । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा च्याउखेती गर्न थाल्नुभएका चौधरी २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लाग्नुभएकाे हाे । 

करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसाय अहिले करिब १५ लाख रुपैयाँ बराबरको भएकाे उहाँले बताउनुभयाे । ‘२०६२ सालमा २५ सय रुपैयाँबाट च्याउखेती सुरु गरेको थिएँ । अहिले १६ वर्ष भयो । म निरन्तररुपमा च्याउ उत्पादन गर्दै आएको छु’, उहाँले भन्नुभयो ‘यो अवधिमा २५ सयबाट सुरु भएको व्यवसाय करिब १५/१६ लाख बराबरको भएको छ ।’

करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय च्याउखेतीमा लाग्ने व्यवसायीहरु समेत थपिँदै गएका छन् । दैनिक करिब २५ केजी बराबरको च्याउ उत्पादन गर्दै आउनु भएकाे चौधरीले उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने गरेको बताउनु भयाे । यसअघि रोल्पा, प्युठान, बुटवललगायतका ठाउँहरुमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेकाे छ । सुगर, प्रेसरलगायतका बिरामी र मासु नखानेहरुले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको  छ । 

‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उहाँले भन्नुभयाे– ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास  भएको छ । जसले गर्दा जति उत्पादन गरे पनि जिल्लाभित्रै खपत हुन्छ।’

च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अर्गानिक च्याउ उत्पादन गर्ने गरेको बताउनुभयाे। केही व्यक्तिहरुले च्याउ बढी फलाउने र चाँडै उत्पादन लिने आशामा औषधि प्रयोग गर्ने गरे पनि आफूले त्यस्तो नगर्ने गरेको उहाँले भन्नुभयाे ।

च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बीउ नपाउँदा व्यवसायीहरु समस्यामा परेका उहाँले बताउनु भयाे। चौधरीले आफ्नो फर्मका लागि काठमाण्डौको कालीमाटीबाट च्याउको बीउ ल्याउने गर्नुभएकाे छ । 

च्याउ नबिके सुकुटी

उहाँले च्याउ नबिके सुकुटी बनाएर बिक्री गर्ने गरेको बताउनुभयाे । उहाँले च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिन समेत ल्याउनु भएकाे छ । चाैधरीले मेसिन प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्फत ल्याउनु भएकाे हाे । 

सुकुटी बनाएको च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गरेकाे छ । ‘च्याउ नबिक्ने  समस्या छैन । तर कहिलेकाहीँ बिकेन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भन्नुभयाे– ‘च्याउ १ सय ६० देखि १ सय ७० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने गरेको छ भने सुकुटी च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गर्दछ।’

वर्षमा तीन लटसम्म च्याउ उत्पादन हुने गर्छ । उत्पादन भएको च्याउ बजारमा बिक्री गर्ने र नबिकेको च्याउलाई सुकुटी बनाउँदा च्याउ खेर जान नपाएको उहाँले बताउनुभयाे। उहाँका अनुसार च्याउबाट भदौ महिनादेखि फागुनसम्म राम्रो आम्दानी लिन सकिन्छ ।

वन कार्यालय लगायतका सङ्घसंस्थामा काम गर्दा रहरमा सुरु गरेको व्यवसाय अहिले आम्दानीको प्रमुख स्रोत बन्न पुगेकाे छ । व्यवसायका लागि प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्फत कृषि ज्ञान केन्द्रबाट १ लाख ५० हजार र यसवर्ष कोभिड प्रभावित किसानका रुपमा राज्यबाट केही सहयोग पाएकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • आचार्य दिपक

    Feb. 18, 2022, 2:22 p.m.

    गरे देखि नहुने र असम्भव भन्ने कुरा केही हुदैन, मात्रै ईच्छाशक्ती चाहिन्छ भन्ने कुरा वहांको उदाहरण लिन सकिन्छ हामीले च्याउ आफैमा एउटा पोशिलो, शक्तिवर्दक र हरेक व्यक्तिका लागि उपयुक्त तरकारी हो पछिल्लो समय हरेक किसानहरुको आम्दामीको राम्रो श्रोत बनेको छ च्याउ तर ईच्छाशक्ती भएर पनि खेती गरेर नेपालमै जिविकोपार्जन गर्ने व्यक्तिका लागि सरकारवाट सुलभ रुपमा ऋण प्रदान गर्ने प्रकृया अझै पनि कार्यान्वयनमा आउन सकिरहेको छैन केही गर्छु र बन्छु भन्ने व्यक्तिका लागि सहज र शुलभ रुपमा ऋण बीउ विजन मिलाउन सरकारले अझ धेरै पहल गरे देशका धेरै युवा विदेशको तातो भूमीमा आफ्नो श्रम खर्चिन पर्थेनकी ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया