‘अपहरणमा परेँ’ भन्दै आफूले काम गर्दै आएकाे फर्मका मालिकसँग ५० लाख फिराैती माग्ने व्यक्ति पक्राउ

 चैत ९, २०७८ बुधबार १६:५८:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – अपहरणमा परेको नाटक गरी आफूले काम गर्दै आएकाे फर्मका मालिकसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका ९ घर भएका २४ वर्षीय जनक देवकाेटालाई प्रहरीले हिजाे मङ्गलवार लमही नगरपालिका ९ अमेलिया जङ्गलबाट पक्राउ गरी आज बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे । उनी तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्तीका हरिप्रसाद रिजालको ड्रागन फ्रुट कृषि फर्ममा काम गर्दै आएका थिए । देवकोटाले फर्म सञ्चालक रिजाललाई आफू अपहरणमा परेकाे भन्दै धम्की दिइ ५० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

यस्ताे छ घटनाकाे शृङ्खला

गएकाे फागुन २७ गते देवकाेटाले फर्ममा प्लास्टिककाे पाइपमा कालो टेपले बेरेर शङ्कास्पद वस्तु राखेका थिए । त्याे वस्तुलाई नेपाली सेनाले डिस्पाेज गरेको थियो । त्यसपछि उनले ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र आफू अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा 'नो एमसीसी' लेखेको पत्र राखेका थिए ।

फेरि चैत ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनी निस्किएका थिए र त्यहाँबाट बैंकमा गइ उनी नेपालगञ्ज गएका थिए । उनले त्यही बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई ‘तपाईँको बुढो हामीसँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौँ, तपाईँ सुरक्षित ठाउँमा जानुहोस्, हामी हजुरको बुढोलाई केही गर्दैनौँ, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ’ भनेर मोबाइलमा म्यासेज लेखेर सम्पर्कविहीन भएका थिए । त्यही रात उनले आफू अपहरणमा परेको नाटक गरी देवकाेटाले मध्यरातमा रिजाललाई म्यासेज पठाएर ५० लाख रुपैयाँ नदिए उनलाई सिध्याइदिने धम्की दिएका थिए ।

त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी स्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदयेश सापकोटाको टोली खटिएको थियो ।

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलैसँग पैसा कमाउने सोचले त्याे घटना रचेका दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुभयाे । देवकोटाविरुद्ध झुठा अफवाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफवाह फैलाउने) र त्यही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तर्गत मुद्दा चल्ने उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया