भूमिकाविहीन भएको महिला सदस्यहरुको गुनासो

 बैशाख ४, २०७९ आइतबार १०:४१:५२ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ - आफ्नो पाँच वर्षे कार्यकाल सकिन लाग्दा पनि आफूहरु भूमिकाविहीन भएको दाङका निर्वाचित वडा सदस्यहरुले गुनासो गरेका छन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये प्रत्येक वडामा एक अध्यक्षसहित कम्तीमा ४ जना सदस्य छन् । त्यसमा पनि एक दलित महिला र थप एक महिला सदस्य अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने कानुनी व्यवस्था छ । बाँकी अन्य दुई खुल्ला सदस्यमा पनि महिलाले जितेका छन् ।

२०७४ सालमा भएको पालिका चुनावमा देशभरबाट करिब २७ हजार वडा सदस्य निर्वाचित भए । यसरी निर्वाचित भएकाहरुमध्ये महिला सदस्यले भने आफूलाई भूमिकाविहीन बनाइएको गुनासो गरेका छन्। 

यस्तै गुनासो छ, दाङको घोराही उपमहानरपालिका वडा नं १६ की महिला सदस्य खिमा घर्ती मगरको  । 'हामीले बजेट माग्दा पनि नदिने, बोलेको कुरा पनि कार्यान्वयन नहुने, तर उहाँहरुले बोलेका कुराहरु हामीहरुले ताली बजाएर पास गनुपर्ने अवस्था छ' घर्तीले भन्नुभयो ।

आफूहरुले माग गरेका योजनामा वडा तहदेखि नगरपालिकासम्म पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । 'वडामा पनि माग गर्छौँ,  त्यहाँ पनि हुँदैन नगरपालिकामा हुन्छ कि भनेर पठायो त्यहाँ पनि सुन्ने तर वास्ता नगर्ने चलन छ' वडा सदस्य घर्ती मगरको गुनासो छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को निर्वाचित महिला वडा सदस्य माया रावत पनि आफूले सोचे अनुसार काम गर्न नपाएको गुनासो गर्नुहुन्छ । वडामा महिलाका पक्षमा कार्यक्रम तथा योजना ल्याउँदा पुरुष सदस्यहरुबाटै यो त भइहाल्छ नि भन्ने र पुरुषले भनेका कार्यक्रम नै पास हुने गरेको गुनासो रावतको छ । रावतले भन्नुभयो— 'भाषणमा जे-जे भनिए पनि  पुरुषको जस्तो भूमिका हामीलाई हुँदो रहेनछ ।'

दाङमा दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी १० वटा पालिकाका छन् । सबै पालिकाका प्रमुखमा पुरुष नै निर्वाचित भएका छन् भने उपप्रमुख र सदस्यहरुमा कानुनले तोके अनुसारको सङ्ख्यामा महिला सदस्य निर्वाचित भएका छन् । स्थानीय तह सञ्चालन सम्बन्धी आदेशमा कानुनले तोके बाहेक वडाको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडा अध्यक्षले लगाएको काम गर्ने भनिएको छ ।

समुदाय लक्षित कार्यक्रम सञ्चालनका लागि माग गर्दा समेत सुनुवाइ नभएको गुनासो निर्वाचित महिला सदस्यहरुको छ । तर महिलाहरु सदस्य निर्वाचित भएर आएपछि गाउँठाउँको समस्या वडादेखि पालिकातहसम्म पुर्याउने र समस्या समाधानका लागि पहल समेत हुने गरेको छ भन्नुहुन्छ दाङको पहाडी भेगमा पर्ने घोराही उपमहानगरपालिका वडा नं १९ की महिला सदस्य जानुका पुन । उहाँ भन्नुहुन्छ, 'टोलटोलमा जाने, कार्यक्रम कार्यान्वयन गराउने दिदीबहिनी जम्मा गर्ने जस्ता काम गरेका छौँ, परिवर्तन भएको छ ।'

वडास्तरमा रहेका सदस्यहरूले आफूहरूलाई निर्णायक बैठक र छलफलमा पनि सहभागी गराउन माग गरेपछि त्यसबारे सम्बन्धित वडालाई भनिसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । 'वडा सदस्य भइसकेपछि वडा समितिको बैठक बस्ने, योजना बनाउने, कार्यान्वयनमा लाग्ने हो त्यसका लागि मैले सम्बन्धित वडालाई भनिसकेको पनि छु' प्रमुख चौधरीले भन्नुभयो ।

धेरैै वडा सदस्यको गुनासो निर्णय प्रक्रियामा भाग लिन नपाएको भन्ने छ । तर उनीहरूलाई भूमिका दिनका लागि जनस्तरको सम्बन्ध र उनीहरूको सक्रियतालाई आधार मानेर परिचालन गर्नुपर्ने बाध्यता रहेको वडाअध्यक्षहरु बताउँछन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया