९ हजारभन्दा धेरै मतान्तरसहित काभ्रे १ (क) मा माओवादीका ढकाल विजयी

 मंसिर ८, २०७९ बिहिबार १७:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि ढकाल विजयी हुनुभएकाे छ । उहाँ ९ हजार ४ सय ४२ मतान्तरले विजयी हुनुभएकाे हाे । 

ढकालले २० हजार ७ सय २० मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दिलबहादुर (दिलिप) तामाङले ११ हजार २ सय ७८ मत ल्याउनुभयाे ।  

रत्न ढकालकाे परिचय 

ढकालकाे जन्म २०३७ साल माघ ६ गते चौंरी देउराली गाउँपालिका ५ मा भएकाे हाे । २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को भातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) मा सङ्गठित हुनुभयाे । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति निमाविको इकाइ समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाइ समिति अध्यक्ष हुनुभएकाे थियाे । 

स्थानीय जागृति माविमा एसएलसी पास भएपछि उहाँ कलेजमा पढ्न काठमाण्डाै छिरेर २०५६ मा काठमाण्डाै क्याम्पस इकाइ समितिको अध्यक्ष बन्नुभयाे । निरन्तर विद्यार्थी आन्दोलनमा लाग्नुभएका उहाँ २०५७ सालमा अखिल (क्रान्तिकारी) काे जिल्ला सदस्यमा निर्वाचित हुनुभयाे । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बन्नुभएका ढकाल २०६१ मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक बन्नुभएकाे थियाे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ढकालले २०६३ देखि २०६५ सम्म अखिल (क्रान्तिकारी) काे केन्द्रीय कार्यालय सचिव भएर काम गर्नुभएकाे थियाे । 

माओवादी आन्दोलनमा फुट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समिति सदस्य बन्नुभएकाे थियाे । माओवादी घटकहरूको एकतापछि उहाँ अहिले नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्य हुनुहुन्छ ।  

ढकाल २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामालाई पराजित गरेर प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । एमाले र माओवादी केन्द्रको एकतापछि ढकाल नेकपाको बागमती प्रदेश सचिवाल सदस्यमा चयन हुनुभएकाे थियाे । पार्टी विभाजनपछि उहाँ बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बन्नुभएकाे थियाे ।

यस्ताे छ ढकालकाे गिरफ्तारी प्रकरण

ढकाललाई २०५८ मङ्सिरमा अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय भुरुङखेलबाट तत्कालीन शाही सेनाले गिरफ्तार गरेका थिए । उहाँलाई ११ दिनसम्म २ नम्बर गण महाराजगञ्जमा राखिएकाे थियाे । विद्यार्थी आन्दोलनका कारण उहाँ सैनिक हिरासतबाट मुक्त हुनुभयाे । फेरि उहाँलाई २०५९ साल साउन ६ गते काठमाण्डाैकाे असनबाट गिरफ्तार गरी ९४ दिनसम्म सैनिक हिरासतमै राखिएकाे थियाे । त्यसपछि उहाँलाई २०५९ साल कात्तिक २७ गते हनुमानढोकाबाट केन्द्रीय कारागार चलान गरिएको थियो । २०५९ साल चैतमा फेरि उहाँ केन्द्रीय कारागारबाट रिहा हुनुभएकाे थियाे । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाही सेनाको गिरफ्तारीमा पर्नुभयाे । त्यतिखेर उहाँलाई ६२ दिनसम्म हिरासतमा राखिएकाे थियाे । त्यसपछि उहाँलाई २०६२ मङ्सिरमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरिएकाे थियाे । राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते उहाँ नख्खु जेलबाट रिहा हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया