दाङमा सकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्

 पुस १३, २०७९ बुधबार ९:१४:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई वि.स. २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमति भएको हो । 

सहमतिपछि परियार त्यहाँ घर बनाएर बस्नुभयो । अहिलेसम्म पनि उहाँको नाममा अन्यत्र जग्गा छैन । तर अहिले उहाँलाई जग्गा खाली गर्न भनेर वन समूहले ताकेता गर्दै आएको छ । परियारसहित सात सुकुम्बासी परिवार उक्त सामुदायिक वनको जग्गामा बस्दै आएका छन् । त्यहाँ केही गैरसुकुम्बासी पनि बस्दै आएका छन् । उनीहरू सबैलाई वन समिति तथा स्थानीयवासीले पटक–पटक घरटहरा हटाउन दबाब दिँदै आएका छन् ।

“पहिला बस्न अनुमति दिए, अहिले हट्न वन समूह र स्थानीयवासीले दबाब दिँदै आएका छन्”, उहाँले भन्नुभयो । केही दिनअघि आफूले लगाएको तोरीसमेत नष्ट गरेको उहाँले गुनासो गर्नुभयो । 

परियारसहित त्यहाँ जितबहादुर विक, मोती नेपाली, वसन्ती परियार, चन्द्रबहादुर सुनार, भीमबहादुर दमाइ र सुन्तली विक वस्दै आएका छन् । डिभिजन वन कार्यालय श्रीगाउँले गत भदौ २१ गते सूचना प्रकाशन गरी सात दिनभित्र टहरा हटाउन उनीहरुलाई निर्देशन दिएको छ । बल प्रयोग गरेरै भए पनि टहरा हटाइने सूचनामा उल्लेख छ ।

पीडितले निवेदन दिएपछि उच्च अदालत तुलसीपुरले अल्पकालीन अन्तरिम आदेश दिँदै वन कार्यालयको सूचना कार्यान्वयन नगर्नू भनेको छ । राष्ट्रिय भूमि आयोगले पनि वैकल्पिक व्यवस्था नहुँदासम्म नहटाउन वन कार्यालयलाई अनुरोध गरेको छ । “जग्गा छैन, बुढो पनि भइयो, यहाँबाट अन्यत्र जानसक्ने अवस्था छैन”, सुकुम्बासी चन्द्रबहादुर सुनारले भन्नुभयो ।

वन समितिका अध्यक्ष प्रताप दाहालले भने आफूहरूले सुकुम्बासीलाई उठाउन नखोजेको बताउनुभयो । “उहाँहरूको व्यवस्थापन सरकारले गर्छ”, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया