दाङ : सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने

 माघ १४, २०७९ शनिबार ७:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दाङ - सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने भएको छ ।

हिजाे शुक्रवार टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ-काठमाण्डौ उडान भर्ने जानकारी दिएकाे हाे । हिजाे दिउँसो १ बजे सीता एअरको १९ सिटे ९ ए–एजेएच विमानले परीक्षण उडान भरेकाे हाे । 

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । 'दुवैतर्फबाट अवतरण सहजै छ', उहाँले भन्नुभयो, 'यहाँको समग्र अवस्थाकाे मूल्याङ्कन गरेर प्रतिवेदन निकाल्छौँ ।' केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उहाँको भनाइ थियो । 'यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।'

उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले बताउनुभयो । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने उहाँले बताउनु भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिकाले ठूला जहाजले पनि उडान भर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्ने तयारी गरेकाे छ । उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाइएको हाे । अहिले नेपाल वायु सेवा निगमकाे विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइतवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाण्डौको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया