नेभिगेशन

रसुवा बाढी : उद्धार कार्य तीव्र, सशस्त्रका ९ जना सम्पर्कविहीन

काठमाण्डाै – रसुवामा आज बिहान आएको भीषण बाढीले ठूलो क्षति निम्त्याएको र बाढीको तह अघिल्लो वर्षको भन्दा झन्डै ५ गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन् । क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भोटेकोशी नदी आज देखिएको र अवस्था डरलाग्दो रहेको बताउनुभयो । उहाँका अनुसार बाढीका कारण नदीको तटमा रहेका क्षेत्रहरू धेरै प्रभावित भएका छन् । टिमुरे बजार, स्याफ्रुबेँसीमा धेरै क्षति भएको खबर आएको उहाँले उल्लेख गर्नुभयाे ।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलैन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । यस्तै कैलाश मानसरोवर हिँडेका झन्डै ५० जना तीर्थयात्री पनि सम्पर्कमा आएका छैनन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ । सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुग्लिनसम्म त्रिशूली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै बाढीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित ठाउँमा सर्न पनि निरन्तर सूचना प्रवाहसमेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रहसमेत गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।

गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कमान्ड सेन्टर स्थापना गरेर उद्धार, राहतलगायतका काम थालिएका छन् । मेडिकल टोली बोकेको सेनाको हेलिकोप्टर रसुवा गएको छ । सरकारले सबै १२ हेलिकप्टर कम्पनीलाई ३४ वटै हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति:
थप समाज