नेभिगेशन

पृथ्वी राजमार्ग, गल्छी–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न आग्रह

काठमाण्डाै – रसुवाकाे भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन वटा प्रमुख सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो ।

बाढीका कारण नदीको बहाव बढेको तथा सडक खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्बन्धित पालिका तथा प्रशासनलाई ती सडक खण्डमा आवतजावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउनसमेत भनेको छ । जोखिमयुक्त क्षेत्रमा गाडी तथा यात्रुको आवतजावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

भोटेकोशीमा आएको बाढीको प्रभाव त्रिशूली तथा नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोवास गर्ने घरपरिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको हो ।

प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह गरेको छ ।

खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनुभयो ।

1-(2)-1787729353.jpg

प्रकाशित मिति:
थप समाज