नेभिगेशन

आज २४ जिल्लामा बाढीको जोखिम

काठमाण्डाै – आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाण्डौ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा बाढीको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाको बाढी पूर्वानुमान बुलेटिनअनुसार पछिल्लो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

आज बिहान कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्तीलगायत सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

आउँदो तीन दिन धेरै नदीमा बहाव सामान्य बढ्ने अनुमान गरिएको छ । विशेषगरी सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती र कालीगण्डकीलगायत नदीमा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ ।

त्रिशूली नदीमा आज, भोलि र पर्सिसम्म नै बहाव उल्लेख्य बढ्ने अनुमान छ । महाशाखाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज