नेभिगेशन

रसुवा बाढी : खोज, उद्धारका लागि १५ सयभन्दा धेरै सशस्त्र प्रहरी परिचालन

काठमाण्डाै – रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि १ हजार ५०० भन्दा धेरै सशस्त्र प्रहरी परिचालन भएका छन् ।

प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी खोज तथा उद्धारका लागि भत्केका संरचनामा खोज तथा उद्धार गर्ने दक्ष टोली र गोताखोर तालिम प्राप्त टाेली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

टोलीले विभिन्न संरचना तथा जलविद्युत् परियोजनालगायत प्रभावित ठाउँहरूमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ ।

सशस्त्र प्रहरीबाट तालिम प्राप्त कुकुर र ६ वटा ड्रोनसमेत परिचालन गरिएको छ । परिचालित टोलीले लोकेट गरिएको १२ ठाउँबाट ९८ वटा शव, ३० जना घाइते तथा ७३ जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढीमा घाइते भएकाका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य सञ्चालन गरेको छ । बाढीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा १०० वटा शय्यासमेत खाली राखिएको छ ।

त्यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० वटा शय्या क्षमतासहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्‍याउने कार्यसमेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।

प्रकाशित मिति:
थप समाज