नेभिगेशन

३ हजारभन्दा धेरैको उद्धार, घाइते ५९ जनाको काठमाण्डौमा उपचार चल्दै

काठमाण्डौ – रसुवाको भोटेकोसी नदीमा अस्ति बुधबार आएको विनाशकारी बाढीमा फसेकामध्ये ३ हजारभन्दा धेरैको उद्धार भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म ३ हजार २५३ जनाको उद्धार गरिएको छ ।

खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । बाढीमा घाइते भएर उद्धार गरी काठमाण्डौ ल्याएकामध्ये ५९ जनाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाण्डौका अनुसार ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाण्डौ ल्याइएकामध्ये २९ जना उपचारपछि ‘डिस्चार्ज’ भएर फर्किएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने ११ जना डिस्चार्ज भएका छन् । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । वीरअस्पतालमा छ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक/एक जनाको उपचार भइरहेको छ । ९७७ जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरुको खोजी भैरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज