दार्चुलामा एमालेले प्रतिनिधि सभा र प्रदेश सभातर्फको सबै सिट गुमायो

 मंसिर ८, २०७९ बिहिबार १५:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेश सभातर्फको सबै सिट गुमाएको छ ।  २०७४ सालको चुनावमा वाम किल्लाका रूपमा चिनिएको एमाले यस पटकको चुनावमा भने जितविहीन भएको हो । 

एमाले नेता सुदूरपश्चिम प्रदेश सह इन्चार्ज पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको गृह जिल्ला दार्चुलामा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको छ । प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना नै पराजित हुनुभएको छ ।

उहाँ नेपाली कांग्रेसका नेता दीलेन्द्र प्रसाद बडूसँग पराजित हुनुभएको हो । यस्तै एमाले प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रबाट जोगिन सकेन ।

दार्चुलामा एमाले नेता गणेश सिंह ठगुन्ना बलियो उम्मेदवारका रूपमा लिइएको थियो । तर अन्तिम नतिजा भने उहाँको पक्षमा हुन सकेन । २०७० र ०७४ मा लगातार दुई कार्यकाल जितेको एमालेले यस पटक आफ्नो किल्ला गुमाएको छ । दुई कार्यकाल नै ठगुन्नाले जित्नुभएको थियो ।

ठगुन्ना यस पटकको जितमा ह्याट्रिक गर्ने दाउमा हुनुहुन्थ्यो । अहिलेको चुनावमा बहालवाला मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र लगायतको साथ थियो भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा आउनुभएको थियो । २०७४ को चुनावमा समानुपातिक सांसद बन्नुभएका मन्त्री बडू यस पटक सत्ता गठबन्धनको भरमा चुनाव जित्नुभएको हो ।

यो पटक प्रदेशसभा (क) मा नेपाली कांग्रेस महासमिति सदस्य तथा गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनु भएको छ । ३१ हजार ५ सय ४२ मत मध्ये १५ हजार १ सय २७ मत प्राप्त गर्दै धामी विजयी हुनुभएको हो । 

नेकपा एमालेका हरदेव जोशीले कुल खसेको मत मध्ये १३ हजार ४५१ मत प्राप्त गर्नु भएको छ । प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । उहाँले १३ हजार १७१ मत पाउनुभयो ।

एमालेका उम्मेदवार राम दत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट वाम गठबन्धनको प्रदेश सभामासमेत विजयी हुनुभएको थियो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया