चुनावी नतिजा सत्ता गठबन्धन अनुकूल देखिएन : एकीकृत समाजवादीलाई फाइदा, माओवादीलाई घाटा

 मंसिर १०, २०७९ शनिबार १०:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको मत परिणाम अन्तिमतिर पुगेको छ ।

प्रतिनिधि सभाका एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ४६ वटाको नतिजा आउँदा कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । दोस्रोमा एमाले र तेस्रो दल माओवादी केन्द्र बन्ने सम्भावना छ । समानुपातिककोसमेत नतिजा आइसकेपछि मात्रै अरु दलको वास्तविक अवस्था प्रष्ट हुनेछ ।

माओवादी असन्तुष्ट : एकीकृत समाजवादीलाई फाइदा

प्रत्यक्षतर्फको मतपरिणामले सत्ता गठबन्धन उद्देश्य अनुसार सफल हुन भने सकेन । यो नतिजामा माओवादी केन्द्र असन्तुष्ट छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा रहेका छन् । उनीहरुले १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गरेर उम्मेदवार उठाए । तर १४६ वटाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ४९, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । 

समग्रमा अहिलेसम्म प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले ८० सिट पाएको छ । गठबन्धन इतर एमालेले ३८, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ६ तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ५ र स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । अरु दल नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जितेका छन् । समग्रमा यो सिट सङ्ख्या ६६ रहेको छ । 

सत्ता गठबन्धन दलमा सोचेजस्तो नतिजा नआएपछि एक अर्कामा घातको आरोप र टिकाटिप्पणी सुरु भएको छ । कांग्रेसले राम्रै सिट जितेकाले अपेक्षाकृत नभए पनि उसलाई फाइदा भएको तर माओवादी खुम्चिएपछि घाटा भएको विश्लेषण छ ।

समग्रमा एमालेबाट अलग भएर बनेको दल नेकपा (एकीकृत समाजवादी) लाई यो नतिजा तुलनात्मक रुपमा फाइदाजनक छ । एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जित्न सफल भएको छ । अघिल्लो पटक एमालेसँगको गठबन्धनबाट माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । तर अहिले गठबन्धन गरे पनि त्यसको आधामा खुम्चियो । 

सत्ता गठबन्धन दलका शीर्ष नेता विजयी

चुनावमा जानुअघि सत्ता गठबन्धनले गएको वैशाख ३० गते भएको पालिका चुनाव र त्यसबाट प्राप्त मतलाई मुख्य आधार बनाए । तर अहिलेको नतिजा अनुसार यो विश्लेषण ठ्याक्कै मिल्दो भएन । सत्ता गठबन्धन दलमा आबद्ध शीर्ष नेताहरु भने जित्न सफल भएका छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु विजयी भए । डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभयो भने गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी हुनुभएको छ । रौतहट क्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर– ३ बाट तथा जनमोर्चाका चित्रबहादुर केसी बाग्लुङ–१ बाट विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका पाँच मन्त्री पराजित

सत्ता गठबन्धनका पाँच मन्त्री पराजित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, खानेपानी मन्त्री उमाकान्त चौधरी, युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित हुनुभएको हो । मतगणना भइरहेको रुपन्देहीको क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाण पछाडि पर्नुभएको छ । त्यहाँ राप्रपाका दीपक बोहराको अग्रता छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया