गुल्मीको सिद्धबाबा विद्यालयमा भूकम्पमापन यन्त्र जडान

 बैशाख २१, २०७६ शनिबार २०:३०:३६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको रेसुंगा नगरपालिका-८ अन्तरगत खानीगाउँमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा भूकम्पक मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।

स्विजरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका २३ वटा विद्यालयहरुमा उक्त यन्त्र जडान गर्ने अभियान अन्तरगत याे यन्त्र जडान गरिएको हो ।

सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा मावि सिस्मोमिटर जडान गर्नेे नेपालको १३ औं र गुल्मी जिल्लाको पहिलो बिद्यालय बनेको छ ।भूकम्पक मापन यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने बताइएको छ । 

विद्यालयमा जडान गरिएको यन्त्रको शुभारम्भ गर्दै रेसुंङा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सिद्धबाबा आफैँमा नमुना विद्यालय भएपनि अझै नमुना बनेको बताउनु भयो । उहाँले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भूकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सबैलाई फाइदा पुग्ने बताउनु भयो । 

स्विजरल्याण्डको लुजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्राचार्य डोरबिक्रम श्रीसले बताउनु भयो ।

विद्यालयलाई उपकरण प्रदान गर्दै सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससँग सम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताउनु भयो । सुवेदीले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरालाई शंकाको दृष्टीकोणले हेर्ने गरिएको बताउनु भयो । 

स्विजरल्याण्डको युनिभर्सिटी अफ लोजानमा याे विषय अध्ययन गर्ने पहिलो नेपाली समेत रहनु भएका सुवेदीले विद्यार्थीमार्फत अभिभावक र समुदायलाई सचेत बनाउन विद्यालयमा भूकम्प मापन यन्त्र जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका २३ विद्यालयमा यो उपकरण जडान गरिने बताइएको छ । 

रेसुङ्गा नगरपालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, ‍विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी दिनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया