लमजुङको सुन्दरबजारमा ‘चिल्ड्रेन पार्क’

 साउन ९, २०७६ बिहिबार २०:४८:४१ | श्यामशितल परियार

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६,मा रहेको शिवालय मन्दिर परिसरमा १० लाख रुपैयाँ खर्चमा ‘चिल्ड्रेन पार्क’ निर्माण गरिएको छ । 

पार्क निर्माणका लागि आर्थिक वर्ष २०७५-०७६ मा महिला तथा बालबालिका शाखा, सुन्दरबजार नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको थियो । बिदाको समयका साथै बिहान–बेलुकीको समयमा स्थानीय बालबालिकालाई खेल्नका लागि सहज हुने भन्दै ‘चिल्ड्रेन पार्क’ बनाइएको सुन्दरबजार नगरपालिका–६, का वडाध्यक्ष रघुनाथ मिश्रले बताउनुभयो ।

‘बालबालिका सडकमा जथाभावी खेल्दा सवारी दुर्घटनाको जोखिम बढ्यो । सम्भावित सडक दुर्घटनालाई न्यूनीकरण गर्नुका साथै स्थानीय बालबालिकालाई सुरक्षित र सहज रुपमा खेल्ने वातावरण सिर्जना गर्न ‘चिल्ड्रेन पार्क’ बनाइएको हो’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार धार्मिक एवम् ऐतिहासिक महत्वको शिवालय मन्दिरको झण्डै एक रोपनी जग्गामा ‘चिल्ड्रेन पार्क’ बनाइएको हो । पार्कमा फलामे ढाेका निर्माणका साथै स–साना गिट्टी बिछ्याएर ६६ मिटर लम्बाइ र डेढ मिटर चौडाइको बाटो बनाइएको छ । पार्कलाई तारजालीले घेरिएकाे छ ।

पार्कमा सिलिबिलि खेल्ने संरचनाका साथै फलामे पिङ, चाकाचुलीलगायतका खेल संरचना राखिएका छन् । 

‘पार्कमा २ वटा सिलिबिलि खेल्ने संरचनाका साथै ४ वटा फलामे पिङ र एउटा चाकाचुली छ,’ वडाअध्यक्ष मिश्रले भन्नुभयो, ‘पार्क बनेपछि बालबालिकाले सहज र सुरक्षित रुपमा खेल्न, रमाउन पाएका छन् ।’

बालबालिका सडकमा खेल्न छाडे

उहाँका अनुसार पार्क बनेसँगै बालबालिका सडकमा खेल्न छाडेका छन् । यसले सम्भावित सडक दुर्घटना न्यूनिकरणमा टेवापुगेको छ । पार्कमा शौचालय, खानेपानी, राउण्ड कटेज, रोटेपिङ निर्माणका साथै ‘फ्री वाइफाइ’को समेत व्यवस्था गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

व्यवस्थित भएपछि पार्कमा एउटा ‘काउण्टर’बनाएर कर्मचारी राखिनेछ र ती कर्मचारीले नै पार्कको सरसफाइका साथै रेखदेख पनि गर्ने बुझिएकाे छ । पार्कलाई व्यवस्थित बनाएपछि प्रतिव्यक्ति १० रुपैयाँका दरले टिकट शुल्क लिने व्यवस्था गरिने छ । शनिबार दिनभर र अन्य बार साँझ ५ बजेपछि पार्क खोल्ने आफूहरुको योजना रहेको पनि उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया