भोजपुरका खानेपानी आयोजनामा कमिसनको खेल : एउटै आयोजनाबाट १० लाखसम्म घुस लिएको खुलासा

 साउन १०, २०७६ शुक्रबार १९:२१:४० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भोजपुरमा पछिल्लो समयमा घुससहित सरकारी कार्यालयका प्राविधिक रंगेहात पक्राउ परेको घटना सेलाउन नपाउँदै अर्का एक इन्जिनियरले मोटो रकम कमिसनका रुपमा लिएको रहस्य खुलेको छ । 

चार दिनअघि मात्र कसैले घुस मागे खबर गर्न र एक घण्टाभित्र कारबाही गर्ने प्रदेश  १ का मुख्यमन्त्री शेरधन राईले प्रतिबद्धता जनाउनु भएको थियो । डिभिजन खानेपानी कार्यालय धनकुटाको भोजपुरस्थित सम्पर्क कार्यालयका इन्जिनियर विजयकुमार यादवले खानेपानी योजनाहरुमा मुल्यांकन गरी बिल पास गरेर भुक्तानी गरेबापत उपभोक्ता समितिहरुबाट ठूलो रकम असुलेको उपभोक्ता समितिहरुले गुनासो गरेका छन् ।

आर्थिक वर्षको अन्तिममा प्रत्येक क्रमागत आयोजनाहरुबाट १० देखि १५ प्रतिशत रकम कमिसन लिने गरेको उपभोक्ताहरु समितिका पदाधिकारीहरुले बताएका छन् । बिहान र बेलुकाको समय पारेर इन्जिनियर विजयकुमार यादवले उपभोक्ताबाट कमिसन लिने गरेको स्रोत बताउँछ । 

‘योजनाको सम्झाैता गर्दा नै हामीसँग डीई (डिभिजन इन्जिनियर) ले दश प्रतिशत बुझाउनुपर्छ, नबुझाइ काम नै अड्काइदिने भनेपछि के गर्ने ?’, जिल्लाको एक लिफ्टिङ्ग खानेपानी आयोजनाका अध्यक्षले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो । उहाँले भन्नुभयो, ‘रनिङ बिल पास हुनासाथ मैले पैसा बुझाएको छु, यसपालिको १ करोडको क्रमागत योजनामा १० लाख घुस दिनपर्‍यो ।’

खानेपानी कार्यालयका एक कर्मचारीका अनुसार सबै योजनासँग इन्जिनियर यादवले घुस लिएका छन् । हिजो आजका केही दिनमा मात्र योजनाको भुक्तानी भएको आधारमा २० देखि २२ लाख रकम घुस लिएको ती कर्मचारीले बताए । कमिसन बुझाउनुपर्ने भएपछि उपभोक्ताहरुले पनि गुणस्तरीय काम गर्दैनन् ।

इस्टिमेटअनुसारको मुल्यांकन पुगेन भनेर फाइल अड्काएर यादवले कमिसन माग्ने गरेको स्रोतले बताएको छ । कमिसन बुझाउने शर्तनामा गरेपछि पुरै मुल्यांकन हुने गरेको छ । प्राविधिकलाई कमिसन दिएको कुराले समितिमा उपभोक्ताहरु र अन्य पदाधिकारीहरुमा निकै छलफलको विषय बन्ने गरेको स्रोतले बतायो ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा १५ वटा क्रमागत आयोजनामा ७ करोड ५३ लाख २७ हजार बजेट विनियोजन भएको छ । यो रकम संघीय सरकारले व्यहोर्ने रकम हो । त्यस्तै प्रदेश सरकारबाट १७ वटा आयोजनामा ८ करोड २८ लाख रकम बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।

कमिसन लिएको सम्बन्धमा पत्रकारहरुको टोली इन्जिनियर यादवसँग शुक्रबार दिउँसो कार्यालयमा गएर बुझ्दा उहाँले ‘हैन’ भन्दै अरु कुरा बोल्नुभयो । पत्रकारले त्यो कुरा उठाएपछि उहाँ केही हच्किए पनि थप केही बोल्नु भएन ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले लिखित उजुरी नआएसम्म यस्तो मुद्दामा आफूले केही गर्न नसक्ने बताउनुभयो । ‘कसैको गुनासो आयो भने के भाको हो भनेर सोध्न सक्छु, भ्रष्टाचारको केसलाई हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र समन्वयबिना कारवाही अगाडि बढाउने अधिकार छैन’, प्रजिअ खतिवडाले भन्नुभयो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले भन्नुभयो, ‘प्रमाणको ‘सूत्र’ हात नलागेसम्म हामीले कारबाही गर्न मिल्दैन ।’ ढकालले भन्नुभयो , ‘रेड हो भने हेर्ने हो नभए कुनै आयोजना विशेषमा गलत भएको पाइयो भने थप अनुसन्धानबाट हामी कारबाही गर्छाैं ।’

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया