नारायण नगरपालिकाका लाभग्राहीले दशैँमा सामाजिक सुरक्षा भत्ता पाएनन्

 असोज १७, २०७६ शुक्रबार २०:५३:४१ | अमर सुनार
unn.prixa.net

दैलेख – नारायण नगरपालिका कार्यालय र एनएमबी बैंकको लापरवाहीका कारण नगरपालिका झण्डै ९० प्रतिशत लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । 

झण्डै २५ सयभन्दा बढी लाभग्राहीमध्ये २२ सय भन्दा बढी एकल महिला, जेष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका हुन् ।

लाभग्राहीको नाममा नारायण नगरपालिकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन दैलेख सदरमुकामको एनएमबी बैंकमा खोलिएका खातामा जम्मा गर्न ढिला गरी रकम पठाएका कारण लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका हुन् ।

४ छोराछोरीकी एक मात्र संरक्षक एकल महिला नारायण नगरपालिका–८ किमुगाउँकी ७१ वर्षीया जैसरा कामीले सामाजिक सुरक्षा भत्ता नपाएको कारण मासु खाने र बच्चाहरुलाई कपडा किन्दिने इच्छा अधुरै रहेको गुनासो गर्नुभयो ।

 बैंकले भुक्तानी दिन नसक्नुको कारणबारे शाखा प्रबन्धक दुर्गा श्रेष्ठको ध्यानाकर्षण गराउँदा ‘नगरपालिकाले १४ गते मात्र रकम पठाएको र सबै लाभग्राहीको नाममा पोष्टिङ्ग गर्न डेढ दिन लागेका कारण बिहीबार र शुक्रबार कोशिस गर्दा पनि ३ सय जनालाई मात्र भुक्तानी दिन सकिएको बताउनुभयो ।

नगरपालिकाले बैंकमा रकम पठाउनै ढिला गरेको सन्दर्भमा नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाको प्रतिक्रिया माग्दा कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा पठाउनै ढिला गरेको कारण यो समस्या आएको प्रतिक्रिया दिनुभयो । 

दैलेखका ७ गाउँपालिका र ४ नगरपालिकामध्ये नारायण नगरपालिकाले मात्र बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

नगरपालिका र बैंकको ढिलाइका कारण अघिल्लो वर्ष पनि यहाँका एकल महिला, जेष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता लिनबाट वञ्चित भएका थिए । अघिल्लो वर्षको सिकाइबाट यो वर्ष सुधार्नुपर्नेमा झन् दोहोरिएको छ । 

नगरपालिकाकै पनि वडा नम्बर १० र ११ तथा सबै पालिकाहरुले एकल महिला, जेष्ठ नागरिक, अपाङ्ग र दलित बालबालिकाले सामाजिक सुरक्षा भत्ता नगदै बाँड्ने गरेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया