ओलीले विधि विपरीत बैठक स्थगित गरेको नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष

 साउन १३, २०७७ मंगलबार १७:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेर विधि विपरीत काम गरेको नेकपा स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बहुमत स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले कसैसँग सल्लाह नै नगरि आफूखुसी बैठक स्थगित गर्नु गलत भएको निष्कर्ष निकालेको हो । बैठक स्थगित भएको जानकारी पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै अध्यक्ष प्रचण्डको अध्यक्षतामा बालुवाटारमै बैठक बसेको हो ।

२९ स्थायी कमिटी बैठक र दुई आमन्त्रित सदस्य सहभागी बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धति सम्मत ढङ्गले अगाडि बढाउन र नेकपाको अहिलेको सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिन योगदान पुर्‍याउन पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यलाई आग्रहसमेत गरेको छ ।

मङ्गलबारकाे बैठकले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि थप गृहकार्य गरी अर्को बैठक डाक्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णयसमेत गरेको छ । मङ्गलबारकाे बैठक यसअघिको स्थायी कमिटी बैठकले नै निर्धारण गरेको तर प्रधानमन्त्री ओलीले आफूखुसी स्थगित गर्नुभएकोले उहाँको अनुपस्थितिमै बैठक बसेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधि सभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेस गर्नुभएको छ । सहमतिका लागि ६ बुँदे प्रस्ताव पेस गर्दै उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गर्नुभएको छ ।

यस्तै नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै उहाँले सबै रोकिएर सल्लाह गर्नुपर्ने बताउनुभएको हो ।

सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्ला केही दितयता नेताहरुबीच आरोप–प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ–आफ्नै रणनीतिमा जुटेको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया