विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हरायो

 कात्तिक ८, २०८० बुधबार ६:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ ।

जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलकाे सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो ।

बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एकदिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।

त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १ सय ७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो ।

हेनरिक क्लासेनले ९० रन जोडे । कप्तान एइडन मारक्रम ६० रनमा आउट भए । बङ्लादेशका हसन महमुदले दुई विकेट लिए । मेहेदी हसन मिराज, शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक विकेट लिए । विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया