अर्थतन्त्र सुधारोन्मुख छ, लगानीको वातावरण बन्दै गएकाे छ : अर्थमन्त्री महत

 पुस १०, २०८० मंगलबार १२:५:२९ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - अर्थमन्त्री डा. प्रकाशशरण महतले देशकाे अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा  उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो।

अर्थमन्त्रीले भन्नुभयो, 'नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।' उहाँले भन्नुभयो, 'यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।' लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर अर्थतन्त्र सहज अवस्थामा आएको उहाँकाे दाबी छ । 

अर्थमन्त्रीले भन्नुभयो, 'लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित रुपमा प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशकासाथ अघि बढे भविष्य सुन्दर छ ।' उहाँले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको बताउनु भयाे । 

सेयरबजार बिस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भन्नुभयो, 'घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक  भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।' अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उहाँले आह्वान गर्नुभयो । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उहाँले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनु भयाे । 

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो 'नीतिगत ब्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।' असल नियतकासाथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ ।

'बैंकको ऋण तिर्दै तिर्दिनँ भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ', अर्थमन्त्रीले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया