डीडीसीले किसानलाई १ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी

 फागुन १८, २०८० शुक्रबार १५:३५:४० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाउडर दूध र मख्खनको स्टक बढ्दै गएपछि किसानलाई तिर्नुपर्ने रकम दिन समस्या भएको विभिन्न निकायले बताएका छन् । दूधमा छ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता रहेको किसानको दाबी छ ।

किसानलाई दूधको पैसा दिनुपर्ने निकाय डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएसन तथा दुग्ध विकास संस्थान हुन् । दुग्ध विकास संस्थान अर्थात् (डीडीसी) ले किसानलाई एक अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्नेछ । अरू झन्डै पाँच अर्ब रुपैयाँ निजी क्षेत्रका डेरीको बक्यौता रकम हो । किसानलाई दिनुपर्ने भुक्तानीमा आफूहरू गम्भीर नै रहेको र केही दिनमै निकास निस्कने नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थानका प्रतिनिधिले बताएका छन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाकाअनुसार अहिले भुक्तानीमा समस्या आउनुको मुख्य कारण पाउडर दूध र मख्खन खपत नभएर हो । डीडीसीमा प्रतिमहिना १५ लाख लिटर बराबरको पाउडर दूध थुप्रिँदा समस्या भएको उहाँको भनाइ छ । डीडीसीमा मात्रै सवा एक अर्ब रुपैयाँ बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । डीडीसीले विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै उपभोक्तामाझ पुर्‍याउँदै आएको छ ।

किसानको बक्यौता डीडीसीमा झन्डै एक अर्ब १० करोड रहेको र यो बक्यौता घटाउन तत्काल सरकारसँग ३० करोड रुपैयाँ सहुलियत ऋण माग गरेको उहाँको भनाइ छ । अबको एक हप्ताभित्रै सरकारले आफूहरूलाई सहुलियत ऋण उपलब्ध गराउने र यसबाट किसानको बक्यौता भुक्तानीमा सहज हुने महाप्रबन्धक झाले उज्यालोसँग बताउनुभएको छ । दूध उत्पादक किसानले भुक्तानीको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया